काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को दोस्रो दिन शनिबार १९ हजार ३०५ जनाले अवलोकन गरेका छन् ।
आधुनिक कृषि उपकरण तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान तथा अवलोकनकर्ताहरू प्रदर्शनीस्थल पुगेका छन् ।
नामियाका अध्यक्ष कृष्ण शर्माले स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाली उत्पादन तथा प्रविधिको प्रवर्द्धनसँगै विदेशी प्रविधि र उपकरणबारे किसानलाई जानकारी गराउने अवसरका रूपमा प्रदर्शनी महत्वपूर्ण रहेको उनले बताए ।मेला संयोजक सुनिता न्हेमाफीले प्रदर्शनीमा किसान तथा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको बतााए ।
नामियाका महासचिव अर्जुनप्रसाद लुइँटेलले प्रदर्शनीले नेपाली किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कृषि क्षेत्रमा श्रमिक अभावको समस्या बढ्दै गएको अवस्थामा यान्त्रीकरणले खेतीपातीलाई सहज बनाउनुका साथै उत्पादन लागत घटाउन सहयोग पुग्ने उनको भनाइ छ ।
त्यस्तै, नामियाका सचिव श्रीकृष्ण अधिकारीले प्रदर्शनीमा राखिएका कृषि उपकरण तथा प्रविधि किसानका लागि उपयोगी रहेको बताए । नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका उपकरणको प्रदर्शनीले कृषि यान्त्रीकरणको विस्तारमा सहयोग पुग्ने उनको धारणा छ ।
नामियाका केन्द्रीय सदस्य याम शर्माका अनुसार मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, मुगु, बुटवल र चितवनलगायतका स्थानबाट किसानहरू सहभागी भएका छन् । प्रदर्शनीले किसानलाई आधुनिक कृषि उपकरण तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन र आफ्नो आवश्यकताअनुसारका उपकरण छनोट गर्न अवसर प्रदान गरेको उनले बताए ।
शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीको पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका थिए । दोस्रो दिनको १९ हजार ३०५ सहित दुई दिनमा कुल २८ हजार ९७१ जनाले प्रदर्शनी अवलोकन गरेका छन् ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपेली मुलुकका कृषि उपकरण उत्पादक, वितरक, व्यवसायी तथा विभिन्न कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल रहेका छन् भने ९२ जना प्रदर्शक सहभागी छन् ।
प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी तथा उपकरण, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता (एआई), बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण राखिएका छन् । त्यस्तै, ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारणसम्बन्धी प्रविधि पनि प्रदर्शनीका आकर्षण बनेका छन् ।
स्वदेशी कृषि उत्पादन र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षको प्रदर्शनीमा नेपाली उत्पादकलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
त्यस्तै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीलाई ५० प्रतिशत छुट दिइएको छ ।प्रदर्शनीले किसानलाई आधुनिक कृषि उपकरण तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन, विभिन्न कम्पनीका उत्पादनको तुलना गर्न र आफ्नो खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्न अवसर प्रदान गरेको छ ।
विशेषगरी नेपालको भौगोलिक अवस्था र साना किसानको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा राखिएका छन् ।
कृषि यान्त्रीकरणलाई विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने र कृषि उपजको उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य प्रदर्शनीले लिएको छ । साथै, स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा कृषि व्यवसायको व्यावसायिक विकासमा समेत प्रदर्शनीले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रदर्शनीका तीनै दिन नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा विभिन्न ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास र नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिएका थिए । दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण तथा नवप्रवर्तनका विषयमा प्रस्तुति र छलफल गरिनेछ ।
अवलोकनकर्तालाई आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरणको व्यवस्था गरिएको छ । प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर पुरस्कारका रूपमा एक जनालाई मिनी टिलर उपलब्ध गराइने आयोजकले जनाएको छ ।प्रदर्शनीको मुख्य आयोजक कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् ।
बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका छन् ।‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।