काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो उपाधि जितेको हो ।
गत सिजनको फाइनलमा लुम्बिनीसँगै पराजित भएको सुदूरपश्चिमले यसपटक १५६ रनको लक्ष्य ३९ बल बाँकी छँदै पूरा गर्यो । यो जितका नायक बने स्कटल्यान्डका ओपनर जर्ज मुन्सी । उनले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै अविजित १२५ रन बनाए । ४९ बलमै शतक पूरा गरेका मुन्सीले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान पनि बनाए ।
मुन्सीले चौका र छक्काबाट मात्रै १०४ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाउँदै उनलाई साथ दिए । यी दुईको अविच्छिन्न १५८ रनको साझेदारीसँगै सुदूरपश्चिमले १३.३ ओभरमै उपाधि पक्का गर्यो ।
लुम्बिनीको इनिङ्समा अर्धशतकसमेत बनेन
पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसका लागि दिलीप नाथले ३१ बलमा अविजित ४० रन बनाए । कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिकवेलाले २८ र डार्सी सर्टले २१ रन बनाए । लुम्बिनीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।
सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए । थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।
१५ मिनेटमै टिकट सकिएको फाइनल
बिक्री खुलेको १५ मिनेटमै टिकट सकिएको फाइनल हेर्न कीर्तिपुरमा ठूलो संख्यामा दर्शक पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुदन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि मैदानमा उपस्थित थिए ।
| टोली | स्कोर |
|---|---|
| लुम्बिनी लायन्स | १५५/६ (२० ओभर) |
| सुदूरपश्चिम रोयल्स | १५८/० (१३.३ ओभर) |


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।