काठमाण्डौ । हिम पर्वत हाइड्रोपावरले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुलाएको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने म्याद मंसिर १० गतेसम्म थपेको छ। कात्तिक ११ गतेदेखि खुला गरिएको यो निष्कासनमा बिगु र कालिन्चोक गाउँपालिकाका स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन्।
कम्पनीले मागभन्दा बढी आवेदन परे मंसिर १० अगावै सूचना प्रकाशित गरी निष्कासन बन्द गर्न सक्ने जनाएको छ।
स्थानीय कोटाको ६० प्रतिशत सात वडालाई
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ९० हजार कित्ता सेयर छुट्याएको छ। यसको कुल मूल्य १६ करोड ९० लाख रुपैयाँ हो।
स्थानीय कोटाको ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता अति प्रभावित क्षेत्रका सात वडाका स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ। यसमा बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ पर्छन्। बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता यी दुवै गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
न्यूनतम आवेदनका लागि एक हजार रुपैयाँ
योग्य स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम आवेदनका लागि एक हजार रुपैयाँ र अधिकतम आवेदनका लागि १० लाख रुपैयाँ चाहिन्छ।
कम्पनीले १ अर्ब ६९ करोड रुपैयाँको जारी पुँजीमध्ये ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये अहिले खुला गरिएको स्थानीय कोटा कम्पनीको जारी पुँजीको १० प्रतिशत हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।