काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त निर्णयसँग जोडिएको रकम १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा रहेको जनाएको छ।
पक्राउ पर्नेमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्। मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल तथा सोही महाशाखाकी तत्कालीन कानुन अधिकृत उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
ब्युरोको अनुसन्धान श्रमिकबाट रकम उठाउने कामदेखि त्यो रकम विदेश पठाउन मन्त्रालय तहमा भएको निर्णयसम्म पुगेको छ। नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट रकम उठाइएको र त्यसमा कानुनी कारबाही अघि बढाउनुपर्ने पदाधिकारी नै रकम मलेसिया पठाउने निर्णयमा संलग्न भएको सीआईबीको आरोप छ। अधिकार क्षेत्र नाघेर गरिएको उक्त निर्णयबाट संगठित समूहलाई लाभ पुर्याइएको र नेपालको विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको ब्युरोको दाबी छ।
सीआईबीले विज्ञप्तिमा उक्त निर्णयसँग जोडिएको रकम ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० बेलायती पाउन्ड रहेको उल्लेख गरेको छ। ब्युरोले यी दुई मुद्राको कुल नेपाली रुपैयाँ बराबर १ अर्ब ६९ करोडभन्दा बढी देखाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा अघि बढेको अनुसन्धानमा कैलाश खड्कासमेत प्रतिवादी रहेको विज्ञप्तिमा उल्लेख छ। ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गर्न ब्युरोले बुधबार काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो। त्यसपछि काठमाण्डौ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरिएको हो।
कति श्रमिकबाट प्रतिव्यक्ति कति रकम उठाइएको थियो, मलेसियामा त्यसको प्राप्तकर्ता को थियो र रकम पठाउने निर्णयमा पक्राउ परेका प्रत्येक व्यक्तिको भूमिका के थियो भन्ने विवरण ब्युरोले सार्वजनिक गरेको छैन। सीआईबीका अनुसार पक्राउ परेका सबैमाथि अनुसन्धान जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।