काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ। यसअघि स्वीकृति पाएको ६५२ मेगावाटसहित भारततर्फ विद्युत् निर्यातको स्वीकृत क्षमता १ हजार २६७.०२ मेगावाट पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युत घिमिरेका अनुसार प्राधिकरणले गत जुन–जुलाईमै पठाएका प्रस्तावमा भारतले चरणबद्ध रूपमा स्वीकृति दिइरहेको छ। पछिल्लो स्वीकृतिअनुसार पीटीसी इन्डियामार्फत २२५.९२ मेगावाट र एनभीभीएनमार्फत ३८९.१० मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न सकिनेछ।
पीटीसी इन्डियामार्फत बिहारतर्फका १३२ केभी प्रसारण लाइन हुँदै १२ जलविद्युत् आयोजनाको २०४.५८ मेगावाट बिजुली निर्यात गर्न १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म अनुमति दिइएको छ। सोही माध्यमबाट सेती जलविद्युत् आयोजनाको २१.३४ मेगावाट बिजुली बिक्री गर्न भने ३१ अगस्ट २०२७ सम्मको स्वीकृति मिलेको छ।
एनभीभीएनमार्फत बिक्री हुने ३८९.१० मेगावाट विद्युत् ४०० केभी ढल्केबर–मुजफ्फरपुर डबल सर्किट प्रसारण लाइनबाट पठाइनेछ। त्यसका लागि पनि १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्मको अनुमति छ। बिहारतर्फ कटैया–कुशाहा, रक्सौल–परवानीपुर र रामनगर–सूरजपुरा अन्तरदेशीय प्रसारण लाइन प्रयोग हुनेछन्।
स्वीकृत क्षमता बढेसँगै नेपाललाई उपलब्ध विद्युत् भारतीय बजारमा बेचेर आम्दानी बढाउने अवसर खुलेको छ। गत आर्थिक वर्षमा नेपालले भारतसँगको विद्युत् व्यापारमा खुद निर्यातबाट करिब १८ अर्ब रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणले पठाएका बाँकी प्रस्तावमा पनि भारतीय पक्षबाट स्वीकृति आउने क्रम जारी रहेको घिमिरेले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।