करिब २७–२८ महिना बियरिस अवस्थामा चलेको बजार, अहिले बिस्तारै उतारचढावको सामना गर्दै माथितिर उक्लने प्रयास गरिरहेको छ।
करिब तीनवटा बुलिस पार गरेर अब बजारले चौथौ बुल छुने बाटो तय गर्न लागेको हो कि जस्तो देखिन्छ । अझै पनि बेला–बेलामा हुने करेक्सनले कति लगानीकर्तालाई यो मार्केट बियरिसको आधार बिन्दु (१८००) अझै नसकिएको हो भन्ने पनि मनमा प्रश्न उब्जिरहेको हुनसक्छ ।
अझ नयाँ लागानीकर्तालाई बजारमा आउने तलमाथिको लयले अनेक प्रश्न उब्जाउन पनि सक्छ । सेयर बजार अति सम्बेदनशील क्षेत्र मानिन्छ । यससँग सम्बन्धित कुनै निकाय वा सोसम्बन्धी व्यक्तिले सानो अभिव्यक्ति दिँदा, वक्तव्यबाजी गर्दा वा सूचना प्रवाह गर्दा ठूलै हलचल आउँछ ।
तर पनि लगानीकर्ताले सेयर बजारबारे राम्रोसँग अध्ययन र अनुसन्धान गर्न सके, ज्ञान हासिल गर्नसके यस्ता आउने सकारात्मक वा नकारात्मक उतारचढावलाई आफ्नो अनुकूल पनि प्रयोग गर्न सकिन्छ । सेयर बजारलाई प्रभाव पार्ने र यसबारे जानकारी लिनुपर्ने धेरै कुरा हुन सक्छन्, जो सिकाइको लामो अभ्यास पनि हुनसक्छ ।
तर यहाँ केही महत्वपूर्ण कुराका बारेमा आफ्ना केही बिचार पस्किने प्रयास गरेको छु । सेयर बजारमा लागेका वा लाग्न चाहनेका लागि केही न केही जानकारीमूलक हुनेछ भन्ने बिश्वास लिएको छु ।
१. मुद्रास्फिति
२. तरलता
३. ब्याजदर
मुद्रास्फिति
देशको मुद्रास्फिति तल–माथि हुँदा त्यसको प्रभाव सेयर बजार लगायत अन्य क्षेत्रमा पर्न थाल्छ । मुद्रास्फिति बढ्न थाल्यो भने सेयर बजारमा नकारात्मक असर पर्छ । जसले बजार घट्ने सम्भावना हुन्छ । यदि मुद्रास्फिति घट्न थाल्यो भने बजारमा सकारात्मक प्रभाव पर्न थाल्छ । मुद्रास्फिति बढ्नु भनेको सरकारलाई तनाव सिर्जना हुनु हो । जसले गर्दा यसलाई बढ्न नदिन राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने बाध्यकारी अवस्था आउँछ ।
राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति कसिलो हुँदै जान्छ र यसको सिधा असर सेयर बजारमा पर्न जान्छ । जुन लगानीकर्ताले भोगिसकेको विषय हो । मुद्रास्फिति बढ्नु भनेको तरलताको अभाव हुँदै गएको अवस्था हो ।
तरलता घटेमा ब्याजदर पनि बढ्न थाल्छ । यदि ब्याजदर वृद्धि हुँदै गएमा त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्छ ।
यदि मुद्रास्फिति घट्दै जान्छ भने तरलता सहज बन्दै गएको भन्ने बुझाउँछ । तरलता सजह बन्दै गएमा ब्याजदर पनि कटौती हुँदै जान्छ, जसले गर्दा बजारमा सकारात्मक माहौल बन्दै जान्छ । ब्याजदर घट्दा लगानीकर्ताको जोखिम लिने क्षमता पनि वृद्धि हुन्छ । लगानीकर्ताले ऋण लिएर पनि लगानी गर्नसक्ने अवस्था सिर्जना हुँदा बजारमा नगद प्रवाह बढ्छ । परिणामस्वरुप कारोबारको भोल्युम पनि बढ्न थाल्छ र सेयर बजारमा चमक आउन थाल्छ ।
तरलता
मुद्रास्फितिमा सुधार आउनुले देशमा तरलता सहज हुन लागेको संकेत गर्दछ । अहिले हाम्रो देशको मुद्रास्फिति थोरै भए पनि घट्न थालेको अवस्था छ । यसैले बैंकमा तरलता पनि थुप्रिन थालेको खबर हामी दैनिकजसो सुनिराखेका हुन्छौँ । बढी तरलता भएका कारण हप्तैपिच्छे नेपाल राष्ट्रबैंकले तरलता खिचिरहेको कुरा सुन्न र पढ्न पाइन्छ ।
यसले सेयर बजारलाई सकारात्मक प्रभाव पार्छ । तरलता सहज हुनु भनेको बैंकहरुलाई ब्याजदर घटाउन दवाब पर्नु हो । तरलता बढ्दा सेयर बजार बढ्ने र तरलता घट्दा बजार पनि घट्ने अवस्था हुने भएकाले लगानीकर्ताले बजार पस्दा र निस्कँदा यो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
ब्याजदर
अहिलेसम्म नेपालको सेयर बजार इतिहासमा ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने अवस्था नै देखिएको छ । ब्याजदर घटेको बेला सेयर खेलाडी जोखिम लिनसक्ने अवस्थामा हुने हुँदा सस्तो ब्याजमा ऋण लिएरै भए पनि उसले लगानी गर्दा मार्केटमा सेयरको माग बढ्ने गर्दछ । जसका कारण सेयरको मूल्य बढ्दै जान्छ ।
ब्याजदर सधैं घट्ने कुरा पनि हुँदैन । ब्याजदर बढे जोखिम बढ्ने भएकाले ऋण लिएर सेयर किन्नेहरुले लोन सेटलमेन्टतिर लाग्ने हुँदा बजारमा मागको तुलनामा आपूर्ति बढ्न थाल्छ । जसले गर्दा बजारमा दवाब सिर्जना हुन थाल्छ ।
अबका दिन बजार के होला त ?
माथिका कुरालाई अवलोकन गर्दा अहिले मुद्रास्फिति पनि सुधार हुँदै गएको देखिन्छ । जसको असर तरलता र ब्याजदरमा देखिन थालिसकेको छ । अहिले देखिने तरलताले बैंकलाई हरेक महिना ब्याजदर घटाउन दवाब परिरहेको छ ।
यसले सेयर बजारमा बिस्तारै सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसकारण पनि अब बजार सकारात्मक बाटोमा जान्छ भन्ने सङ्केत गर्दछ । तर लगानीकर्ताले अल्पकालीन मुनाफाभन्दा पनि दिर्घकालीन लगानीबारे सोच्नु पर्छ । दिर्घकालीन लगानीले जस्तो अल्पकालीन लगानीले राम्रो प्रतिफल पक्कै दिँदैन ।
अल्पकालीन लगानीले पूँजिगत नाफा मात्र दिनसक्छ भने दिर्घकालीन लगानीले पूँजिगत नाफा र पूँजिगत लाभ (बोनस सेयर) दुवै दिने गर्छ ।
–प्रेम वली

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                