काठमाण्डौ । पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । सर्वसाधारणलाई आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका नयाँ कम्पनीले लगानीकर्ताको ध्यान निकै खिचेको देख्न सकिन्छ ।
प्रायजसो भर्खरै आईपीओ निष्कासन गरेको नयाँ कम्पनीहरुको वित्तीय रिर्पोट राम्रो देखिदैन । तर आईपीओ जारी गर्नुअघि त्यस्ता कम्पनीहरुले आफ्नो वित्तीय अवस्था राम्रो रहेको गलत रिर्पोट देखाएर सर्वसाधारणको लगानी जोखिममा राखेको छ ।
अहिले बजारमा सागर डिष्टिलरी, बन्दिपुर केबलकार, एसवआई प्यानल, श्रीनगर एग्रिटेकका कम्पनीका सेयरमा लगानीकर्ता आकर्षित देखिन्छन् । तर यी कम्पनीहरुको वित्तीय अवस्था केलाउने हो भने चित्तबुझ्दो देखिदैन ।
यी मध्ये जुन कम्पनीको नाफा घटेको छ वा घाटा चुलिँदै गएको छ, धितोपत्र दोस्रो बजारमा त्यहि कम्पनीकै सेयरभाउ भने लगानीकर्ताले किन्ने नसक्ने गरी महँगिदै गएको छ ।
सागर डिष्टिलरीकै वित्तीय अवस्था हेर्ने हो भने कम्पनीले दोस्रो त्रैमाससम्ममा २ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । यो कम्पनीको इपीएस ७.२१ रुपैयाँ ऋणात्मक रहेको छ । तर दोस्रो बजारमा यो कम्पनीको सेयरभाउ भने झण्डै दुई हजार रुपैयाँ हाराहारीमा छ ।
त्यस्तै, बजारमा अर्को नयाँ चर्चित कम्पनी भने एसवाई प्यानल पनि हो । यो कम्पनी भलै नाफामा रहेपनि गत आवको तुलनामा नाफा ह्वात्तै घटेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ७८ लाख ७१ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७१.१५ प्रतिशत कम हो ।
कम्पनीको इपीएस पनि जम्मा १.६५ रुपैयाँ छ, तर दोस्रो बजारमा यो कम्पनीको सेयरभाउ भने १८९२ रुपैयाँ छ ।
त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजम पनि सेयरबजारमा नयाँ कम्पनी हो । यो कम्पनी पनि घाटामै रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ७४ लाख ९१ हजार रुपैयाँ घाटा ब्यहोरेको छ भने कम्पनीको इपीएस ०.२६ रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको सेयरभा ९३५ रुपैयाँ रहेको छ, तर केही समयअघि यो कम्पनीको सेयरभाउ पनि ११ सय रुपैयाँ आसपास पुगेको थियो ।
नयाँ कम्पनी नै भएपनि अपवादको रुपमा श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको वित्तीय अवस्था भने राम्रै देखिएको छ । यो कम्पनीले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा २०९.१० प्रतिशत बढी हो ।
तर नाफामा उल्लेख्य सुधार देखिएपनि कम्पनीको इपीएस भने जम्मा १.०३ रुपैयाँ रहेको छ । कम्पनीको सेयरभाउ भने १४ सय रुपैयाँमाथि छ ।
यी कम्पनीहरु दोस्रो बजारमा कारोबारमा आएदेखि सेयरभाउ भने रकेटको गतिमा बढेको थियो । उक्त कम्पनीहरको वित्तीय स्वास्थ्य चूनौतीपूर्ण देखिएपनि दोस्रो बजारमा यस्तै कम्पनीको सेयर खरिदमा चाप बढ्नुले लगानीको जोखिम बढ्दै गएको बुझ्न सकिन्छ ।
पछिल्लो समय बजारमा ट्रेडरहरु हाबी हुनुले पनि यस्ता वित्तीय अवस्था बलिया नभएका कम्पनीहरु बढी चम्किएका छन् । जेनजी आन्दोलनपश्चात् दीर्घकालिन लगानीकर्ताको बजारमा आगमन नभएकाले यस्ता कम्पनीहरु बढी चलेको सेयर विज्ञहरु बताउँछन् । ट्रेडरहरुले लो क्याप भएका कम्पनी वा नयाँ कम्पनीलाई कारोबारका लागि बढी फोकस गर्ने हुँदा वित्तीय अवस्था कमजोर हुँदाका वाबजुत पनि सेयरभाउ भने अप्रत्यासित ढंगबाट बढीरहेको छ ।
माथि उल्लेख गरेबमोजिम सागर डिष्टिलरी घाटामै भएपनि किन सेयरभाउ भने २ हजार आसपास छ भन्ने विषयमा कम्पनीको कारोबारमा आउने कित्ता संख्या कम हुनु पनि हो । दोस्रो बजारमा उक्त कम्पनीको जम्मा १४ लाख ५२ हजार कित्ता मात्रै कारोबार गर्न मिल्नेछ, सो कारण पनि ट्रेडरहरुलाई डिमाण्ड बढाएर मूल्य उचाल्न सहज बनेको छ ।
यसका साथै श्रीनगर एग्रिटेकको पनि ३२ लाख ६२ हजार कित्ता सेयर कारोबार गर्न मिल्नेछ भने बन्दिपुर केबलकारको ५८ लाख ६० हजार कित्ता र एसवाई प्यानलको ५२ लाख ३२ हजार कित्ता सेयर कारोबार गर्न मिल्नेछ ।

