मंगलवार, मंसिर ८,२०८३ 01:03:45
  • मंगलवार, मंसिर ८,२०८३ 01:03:45
Global IME Bank Limited

८ वर्षपछि बन्यो नारायणघाट–बुटवल सडक, राजमार्गमा अब दुबो रोपिँदै

Bizshala
८ वर्षपछि बन्यो नारायणघाट–बुटवल सडक, राजमार्गमा अब दुबो रोपिँदै
New Office

 

काठमाण्डौ । लामो समयसम्म निर्माणमा भएको ढिलाइका कारण यात्रुले सास्ती खेप्नुपरेको नारायणघाट–बुटवल सडकको मुख्य निर्माण कार्य सम्पन्न भएको छ। करिब आठ वर्ष लगाएर विस्तार गरिएको ११३ किलोमिटर सडकमा अहिले सौन्दर्यीकरणको काम तीव्र पारिएको छ।

चार लेनमा विस्तार गरिएको सडकको बीचमा रहेको करिब तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम सुरु भएको हो।

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायतका क्षेत्रमा दुबो रोप्ने तथा सडकलाई आकर्षक बनाउने काम भइरहेको छ।

उनका अनुसार सडकको मुख्य कालोपत्रे तथा ढलानको काम लगभग सकिएको छ। अहिले सर्भिस लेनको बाँकी काम, सडक किनारका संरचनामा रङरोगन, डिभाइडर व्यवस्थापन, पैदलमार्ग निर्माण तथा बिरुवा रोप्ने काम भइरहेको छ।

४२ महिनामा सक्ने ठेक्का आठ वर्षमा पूरा

नारायणघाट–बुटवल सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो। सोही वर्षको चैतदेखि निर्माण सुरु गरिएको आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर, विभिन्न कारणले निर्माण कार्यमा ढिलाइ हुँदा चारपटक म्याद थप्नुपरेको थियो। अन्ततः करिब आठ वर्षपछि गत साउनमा सडकको मुख्य निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।

सूचना अधिकारी खनालका अनुसार सडकको मुख्य काम सकिएपछि आयोजनाले निर्माण कम्पनीबाट सडक जिम्मा लिइसकेको छ। तर, सडकको अन्तिम हस्तान्तरण भने भएको छैन।

निर्माण सम्झौताअनुसार आगामी पाँच वर्षसम्म सडकमा देखिने त्रुटि तथा कमजोरी सच्याउने जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ। उक्त अवधि पूरा भएपछि मात्रै अन्तिम हस्तान्तरण हुनेछ।

CG Motors
Garima Development Bank
IME remit

१७ अर्ब खर्च, ८५ प्रतिशत रकम एडीबीको ऋण

नारायणघाट–बुटवल सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ। आयोजनाको कुल लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।

सडक विस्तारको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो।

आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण गरिएको हो। गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरलाई पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४८ किलोमिटरलाई पश्चिमी खण्डका रूपमा विस्तार गरिएको छ।

कहाँ कति लेनको सडक बन्यो ?

आयोजनाअन्तर्गत कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण गरिएको छ।

बजार तथा सहरी क्षेत्रमा मुख्य चार लेनसँगै दुवैतर्फ सर्भिस लेन थपेर सडकलाई छ लेनको बनाइएको छ।

त्यस्तै, ग्रामीण तथा वन क्षेत्रमा चार लेन र भौगोलिक रूपमा चुनौतीपूर्ण दाउन्ने क्षेत्रमा तीन लेनको सडक बनाइएको हो।

दाउन्ने क्षेत्रमा पटकपटक सडक भासिने र कालोपत्रे बिग्रिने समस्या देखिएपछि करिब ११ किलोमिटर क्षेत्रमा सिमेन्ट कङ्क्रिट प्रयोग गरिएको छ।

सडक विस्तारका क्रममा २१ वटा ठूला पुल, ४३ वटा साना पुल र पानी निकासका लागि ४६ वटा कल्भर्ट निर्माण गरिएको आयोजनाले जनाएको छ।

आयोजना निर्माणका क्रममा ४९ हजार ८३० वटा रुखसमेत काटिएका थिए।

सवारीको गति सीमा निर्धारण, दुर्घटना रोक्न विशेष व्यवस्था

सडक विस्तारसँगै सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्न विभिन्न क्षेत्रमा फरकफरक गति सीमा निर्धारण गरिएको छ।

आयोजनाका अनुसार सिधा तथा खुला सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार तथा क्रसिङ क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा र वन क्षेत्र तथा दाउन्नेको पहाडी सडकमा ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ।

सडकमा लेन मार्किङ, ट्राफिक संकेत, गति सीमा जनाउने बोर्ड तथा निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्थासमेत गरिएको छ।

६५ वर्ष पुरानो राजमार्गको फेरियो स्वरूप

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणघाट–बुटवल सडकको इतिहास करिब ६५ वर्ष पुरानो छ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले नवलपुरको गैँडाकोटमा शिलान्यास गरी पूर्वपश्चिम राजमार्ग निर्माणको सुरुवात गरेका थिए।

त्यसको करिब साढे छ दशकपछि नारायणघाट–बुटवल खण्ड फराकिलो र आधुनिक सडकमा रूपान्तरण भएको हो।

लामो समयसम्म निर्माणाधीन सडकका कारण धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम खेप्दै आएका यात्रुलाई मुख्य निर्माण कार्य सम्पन्न भएसँगै राहत मिलेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.