काठमाण्डौ । सुदूरपश्चिम प्रदेशसभाका तीन सांसदले प्रदेश राजधानी धनगढीमै निजी आवास हुँदाहुँदै पनि राज्यकोषबाट मासिक घरभाडाबापत रकम बुझ्दै आएको खुलेको छ। प्रदेशसभा सचिवालयको विवरणअनुसार नेपाली कांग्रेसका दुई र नेकपा एमालेका एक सांसदले मासिक १७ हजार रुपैयाँका दरले आवास सुविधा लिइरहेका छन्।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को मर्मविपरीत आवास सुविधा लिइएको भन्दै उनीहरूको आलोचना हुन थालेको छ।
यसरी सुविधा लिनेमा कांग्रेस सांसद डम्मरी महरा, पूर्वराज्यमन्त्री प्रकाशबहादुर बम र एमाले संसदीय दलकी उपनेता तथा सामाजिक विकासमन्त्री सन्तोषकुमारी थापा छन्।
कांग्रेस सांसद प्रकाशबहादुर बमको निजी घर धनगढी उपमहानगरपालिका–५, हसनपुरमा छ। प्रदेशसभा सचिवालयबाट करिब एक किलोमिटर दूरीमा घर भए पनि उनले आवास सुविधा बुझ्दै आएका छन्। सचिवालयको विवरणअनुसार राज्यमन्त्री पदबाट बाहिरिएपछि गत जेठ २५ देखि उनले पारिश्रमिक, आवास, धारा, बिजुली, सञ्चार तथा अतिथि सत्कारसहित मासिक एक लाख दुई हजार छ सय रुपैयाँ प्राप्त गरेका थिए।
त्यस्तै, कांग्रेस सांसद डम्मरी महराको घर धनगढी–३, केदार टोलमा छ। प्रदेशसभा सचिवालयबाट करिब तीन किलोमिटर दूरीमा निजी आवास रहे पनि उनले सांसद निर्वाचित भएदेखि नै घरभाडा सुविधा लिँदै आएको जनाइएको छ।
सचिवालयको विवरणमा महराले ४३ महिनाको आवास सुविधाबापत सात लाख ३१ हजार रुपैयाँ बुझेको उल्लेख छ। यद्यपि, उक्त रकम आर्थिक वर्ष २०८२/८३ कै मात्र भएको विवरणमा समयावधिसम्बन्धी अस्पष्टता देखिन्छ। सो आर्थिक वर्षमा उनले पारिश्रमिक र अन्य सुविधासहित १० लाख ८२ हजार पाँच सय रुपैयाँ प्राप्त गरेको उल्लेख छ।
एमाले संसदीय दलकी उपनेता तथा सामाजिक विकासमन्त्री सन्तोषकुमारी थापाको घर पनि धनगढी–५, पिपल चौतारामा छ। प्रदेशसभा सचिवालयबाट करिब डेढ किलोमिटर दूरीमा घर भए पनि उनले राजधानीमा आफ्नो घर नभएको विवरण पेस गरी आवास सुविधा लिँदै आएको सचिवालयले जनाएको छ।
उनले गत आर्थिक वर्षमा पारिश्रमिक तथा विभिन्न सुविधाबापत कुल १० लाख ८२ हजार पाँच सय रुपैयाँ बुझेको विवरणमा उल्लेख छ।
पहिले पनि उठेको थियो विवाद
सुदूरपश्चिम प्रदेशसभामा आफ्नै घर भएका सांसदले आवास सुविधा लिएको विषय नयाँ भने होइन।
प्रदेशसभाको पहिलो कार्यकालमै तत्कालीन कांग्रेस सांसद डिल्लीराज पन्तले सचिवालयबाट करिब एक सय मिटर दूरीमा घर हुँदाहुँदै आवास तथा यातायात सुविधा लिएको विषय विवादित बनेको थियो।
विवादपछि उनले रकम फिर्ता गर्ने सार्वजनिक घोषणा गरे पनि रकम फिर्ता नगरेको बताइएको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो। छानबिनका क्रममा सम्बन्धित सांसद बसोबास गर्ने घर उनीहरू स्वयंको नाममा नभई परिवारका अन्य सदस्यको नाममा रहेको पाइएको स्रोतको दाबी छ।
त्यसपछि आयोगले आवास सुविधा भुक्तानी रोक्न निर्देशन दिएको तर थप कारबाही नभएको प्रदेशसभा सचिवालयका एक कर्मचारीलाई उद्धृत गर्दै रातोपाटीले समाचार प्रकाशित गरेको छ।
सुविधा वितरण प्रणालीमै प्रश्न
प्रदेश राजधानीमै बसोबासको व्यवस्था भएका जनप्रतिनिधिले समेत राज्यकोषबाट घरभाडा बुझ्नुले सरकारी सुविधाको वितरण र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रदेशसभा सचिवालयले सांसदहरूले भरेको फारामका आधारमा आवास सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। तर, घर सांसदकै नाममा हुनुपर्ने वा परिवारका सदस्यको नाममा रहेको घरलाई पनि निजी आवास मानिने भन्ने विषयमा कानुनी व्याख्या र प्रमाणीकरण स्पष्ट हुन आवश्यक देखिएको छ।
सार्वजनिक खर्चमा मितव्ययिताको बहस भइरहेका बेला जनप्रतिनिधिको आवास सुविधामा देखिएको यस्तो प्रवृत्तिले सरकारी स्रोतसाधनको सदुपयोग, पारदर्शिता र जवाफदेहितामाथि थप प्रश्न खडा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।