काठमाण्डौ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कुमारी बैंकले एन–ट्याग (N-Tag) बिक्री तथा वितरण सेवा सुरु गरेको छ।
बैंकले आफ्ना शाखाहरूबाट एन–ट्याग उपलब्ध गराउन थालेको हो। यो प्रणाली प्रयोग गर्ने सवारीधनीले सुरुङमार्गको टोल बुथमा नगद भुक्तानीका लागि रोकिनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।
एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। सवारीसाधनमा यसको स्टिकर टाँसेपछि टोल शुल्क स्वचालित रूपमा भुक्तानी हुने व्यवस्था छ। यसबाट टोल बुथमा हुने सवारीको भीडभाड कम हुनुका साथै यात्राको समयसमेत बचत हुने अपेक्षा गरिएको छ।
एन–ट्याग लिन चाहने ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्।
बैंकका अनुसार एन–ट्यागसम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। वेबसाइटमार्फत अनलाइन दर्ताको प्रक्रियासमेत पूरा गर्न सकिने व्यवस्था गरिएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा विद्युतीय टोल भुक्तानीको प्रयोगले यात्रालाई थप सहज बनाउनुका साथै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।