काठमाण्डौ । महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त बनेको कञ्चनपुरस्थित ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
गत असोज १४ गते आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने उक्त पुलबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ।
पुल पुनर्निर्माणको काम अघि बढाउन सस्पेन्सन ब्रिज डिभिजनले पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग ५ करोड रुपैयाँ बजेट माग गरेको छ।
डिभिजनका योजना प्रमुख शंकर बुढाथोकीका अनुसार पुल पुनर्निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन र विस्तृत लागत प्रतिवेदन तयार गर्ने काम भने अझै पूरा भएको छैन।
भत्किएको स्तम्भ आसपास नदीको पानी बगिरहेकाले माटो परीक्षणलगायतका प्राविधिक काम गर्न कठिनाइ भइरहेको उनले बताए। नदीमा पानीको सतह घटेपछि विस्तृत अध्ययन सम्पन्न गरी ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ।
पुलमा भएको क्षतिको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो।
टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट पुलमा करिब ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। पुललाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन भने करिब २० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
अध्ययनका क्रममा भत्किएको स्तम्भबाहेक दायाँबायाँका थप दुई स्तम्भसमेत कमजोर अवस्थामा रहेको पाइएको छ। यसले पुनर्निर्माणका क्रममा थप संरचनागत सुधार आवश्यक पर्ने देखाएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले पुल पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
महाकाली नदीमाथि रहेको दोधारा चाँदनी झोलुङ्गे पुल स्थानीय आवागमनको महत्वपूर्ण माध्यम हुनुका साथै सुदूरपश्चिमको चर्चित पर्यटकीय गन्तव्यसमेत हो।
पुल बन्द हुँदा स्थानीय बासिन्दाको आवतजावत प्रभावित भएको छ। पुनर्निर्माणको प्रारम्भिक बजेट व्यवस्थापनको पहल भए पनि प्राविधिक अध्ययन र ठेक्का प्रक्रिया बाँकी रहेकाले पुल कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै निश्चित हुन सकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।