काठमाण्डौ । वैदेशिक रोजगार बीमालेख बिक्रीमा एशियन लाइफ इन्स्योरेसले ठूलो फड्को मारेको छ । हाल १० वटा जीवन बीमकले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् ।
जसमध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको तुलनामा यस्तो बीमा ब्यवसाय १९१४.४२ प्रतिशतले बढाएको छ । गत वर्ष जेठ महिनासम्ममा एशियन लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर १ करोड ३७ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेकोमा चालु आवको जेठसम्म यस्तो बीमा बिक्रीबाट २७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले वैदेशिक रोजजार बीमालेख बिक्रीमा उल्लेख्य सुधार गरेसँगै कुल व्यवसाय समेत बृद्धि भएको छ । गत वर्ष ६ अर्ब ११ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको एशियन लाइफले आफ्नो व्यवसाय १४।९७ प्रतिशतले बढाएर ७ अर्ब २ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।
एशियन लाइफको जेठ महिनासम्ममा वैदेशिक रोजगार बीमालेख संख्या ७३ हजार ३३६ रहेको छ । जुन यो गत आवको तुलनामा ११५३।६१ प्रतिशतले बढी हो । गत आवको सो अवधिसम्म कम्पनीमा यस्तो बीमालेख संख्या ५ हजार ८५० मात्रै थियो ।
यसर्थ पनि कम्पनीले पछिल्लो केही समययता वैदेशिक रोजगारमा गएकाहरुको धमाधम बीमा गराएको देखिन्छ । हाल १० वटा बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट संकलन गरेको २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँमा एशियन लाइफ इन्स्योरेन्सले मात्रै ९।६२ प्रतिशत बीमाशुल्क संकलन गरेको छ ।
जेठ मसान्तसम्म १० वटा बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन यो गत वर्षको तुलनामा ३।०८ प्रतिशतले कम हो । गत आवको सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
समग्रमा जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घटेको देखिएपनि एशियन लाइफ इन्स्योरेन्सले भने यस्तो व्यवसाय बढाउन ठूलो फड्को मारेको छ । यस्तो बीमालेखबाट उत्कृष्ट व्यवसाय भित्र्याउने कम्पनीहरुको गत आवको तुलनामा वैदेशिक रोजगार बीमा व्यवसाय घटेको देखिएपनि एशियनले भने उल्लेख्य बढाउन सफल भएको छ ।
वैदेशिक रोजगारमा गएकाहरुलाई बीमा गराउन कम्पनीले युनिट नै खडा गरेकाले गत वर्षको तुलनामा यस्तो व्यवसाय प्रतिशत उल्लेख्य बढ्न पुगेको कम्पनीका डेपुटी सीइओ होम बहादुर श्रेष्ठले बताए ।
‘गत वर्षसम्म हामीले यस्तो बीमा बिक्री गर्न भखर्र सुरुवात् मात्रै गरेका थियौं, यस वर्ष हामीले वैदेशिक रोजगारमा जाने नेपालीहरुको बीमा गराउन डिपार्टमेन्ट नै छुट्याएर युनिट खडा गरेका छौं’ उनले भने, ‘वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था भएबमोजिम एशियन लाइफले पनि सोही अनुसार नै वैदेशिक रोजगारमा जानेहरुका लागि यस्तो बीमालेखमा अन्य सुविधा पनि राखेको छ ।’
श्रेष्ठका अनुसार कम्पनीले वैदेशिक रोजगारमा जानेहरुको बीमा गराउन विभिन्न मेनपावरहरुसँग सहकार्य गर्दै आइरहेको छ । ‘हामीले वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाईहरुको बीमा गराउन विभिन्न मेनपावरहरुसँग सहकार्य समेत गरेका छौं’ उनले भने, ‘योसँगै डिजिटल भुक्तानी प्रणाली ईसेवा, खल्ती र आइएमई पेहरुसँग पनि हामीले सहकार्य गरेका छौं, यसबाट पनि यस्तो व्यवसाय बृद्धिमा टेवा पुगेको छ ।’
पछिल्लो समय एशियन लाइफ इन्स्योरेन्सले लगानी विविधिकरणमा समेत जोड दिदैं आइरहेको छ । कम्पनीले हवाईदेखि हाइड्रो प्रोजेक्टहरुमा लगानी विविधकरण गरेको छ । कम्पनीले निर्जीवन बीमा, पुनर्बीमा, बैंक, पर्यटन, हवाई, जलविद्युत क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गर्दै लगेको छ ।
कम्पनीले यती एयर लिमिटेडको ४८ प्रतिशत सेयर खरिद गरेर हवाई उडान व्यवसायमा समेत लगानी विस्तार गरेको हो । सम्भवतः हवाई क्षेत्रमा लगानी गर्ने बीमा क्षेत्रमा नै पहिलो कम्पनी हो ।
त्यस्तै, कम्पनीले मकवानपुर जिल्लाको सुपर बागमती हाइड्रो पावर जलविद्युत आयोजनासँगै पाँचवटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ । कम्पनीमा हाल एक लाख भन्दा बढी अभिकर्ता सक्रिय छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                