काठमाण्डौ। डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । केही दिनअघि दुई उद्योगले बक्यौता बुझाएका थिए। आज थप दुई उद्योगले बक्यौता बुझाएका हुन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यसरी जरिवानासहित बक्यौता बुझाउनेमा यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिज रहेका छन्।
प्राधिकरण भैरहवा शाखाका अनुसार सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ बुझाएको प्राधिकरणको भैरहवा शाखाले जनाएको छ।
त्यसैगरी यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएका हुन्। भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत अझै ६ वटा उद्योगले बक्यौता बुझाउन बाँकी रहेको जनाइएको छ।