काठमाण्डौ। नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने बताइएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्।
आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।
टिकटकका प्रतिनिधिले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।