काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा एकाएक कारोबार रकममा व्यापक गिरावट आएको छ । बढ्दो बजारमा कारोबार रकम घट्नुलाई त्यति शुभ संकेतका रुपमा लिइदैन । लगानकिर्तामाझ पछिल्लो सयम कारोबार रकममा आएको कमी स्वभाविक हो कि ? वा अन्य कुनै कारणले सुनियोजित रुपमा घटाइएको हो ? भन्ने मुख्य प्रश्नको रुपमा देखिएको छ ।
हालसम्मकै उच्च कारोबार भएदेखि सेयर कारोबार ५३ प्रतिशतले घटेको छ । गत साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँबराबरको किर्तिमानी कारोबार भएको थियो । त्यस पछि लगातार ६ वटा कारोबार दिनमा कारोबार रकम घटेको थियो । भदौ २ गते २८ अर्ब हाराहारीमा सेयर काराबार भएको थियो ।
त्यस पछि भदौ ५ गते १० अर्बले कारोबार घटेर १९ अर्बमा सीमित बनेको थियो । तर आज बुधबार भने औषत भन्दा तल झरेर करिब १४ अर्बको मात्रै कारोबार भएको छ । यसरी एकाएक सेयर कारोबार घटेपछि बजारमा एउटा जमातले ब्रोकरहरुले लगानीकर्ताहरुलाई दिइने लिमिटमा टाइड गरेको बताउँदै आएका छन् । एकै दिन ३० अर्ब सेयर कारोबार भए पछि धितोपत्र बोर्डले सबै ब्रोकरलाई पत्र पठाएर हिसाब मागेको थियो । त्यस पछि भने ब्रोकरहरुले पनि लगानीकर्ताहरुलाई दिइने लिमिटमा केही कसिलो नीति लिएका थिए ।
कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) का सञ्चालक तथा स्टक ब्रोकर एसोशियसनका पूर्व अध्यक्ष भरत रानाभाटले घट्दो बजारमा भोल्युम घट्नु स्वभाविक नै रहेको बताँउछन् । ‘बढ्दो बजारमा हिसाब मिलान गर्न पनि सहज हुन्छ । बजार घट्न थाले पछि नयाँ पैसा आउँदैन । बजार घट्न थाले पछि कारोबारी पनि पछाडि हट्छन्’, उनले भने, ‘हामीले पनि ग्राहकबाट लिएर नै दिनु पर्छ । ब्रोकरले लिमिट टाइड गरे भन्ने भाष्य गतल हो । हामीले सधैंनै टाइड गर्नु पर्छ र गर्छौं पनि ।’
रानाभाटले सेयर किनबेच गर्न ग्राहक स्वतन्त्र हने र अहिले नै किनेकाले बेच्न नसकिरहेको बताए । उनले भने, ‘बजारमा अबसर देख्ने बित्तिकै फेरी कारोबार बढ्छ ।’
रानाभाटले अहिले नै बजारलाई प्रभावित गर्ने गरि ब्रोकरबाट पैसा भने नबाहिरिएको दाबी गरे । सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे घट्दो बजारमा कारोबार घट्नुलाई स्वभाविक मान्छन् । ‘लगानीकर्ता निस्क्रिय हुँदा कारोबार पनि घटेर जान्छ । बजार बढ्न थाले पछि फेरि कारोबार पनि बढेर जान्छ,’ घिमिरे भन्छन् ।
अर्का सक्रिय लगानीकर्ता टेकेन्द्र थपलिया भने धितोपत्र बोर्डले हिसाब मागे पछि ब्रोकरहरुले केही कसिलो नीति लिन थालेको तर्क गर्छन् । उनले ब्रोकरहरुले कारोबार घटाउने कामको तानाबाना बुनेको दाबी गरे । ‘ब्रोकरहरुले लगानीकर्तालाई असहयोग गर्दा, लिमीट नदिंदा, बाँकी उठाउनतिर लाग्दा अहिले बजारमा कारोबार सुकेको छ,।’ उनले भने ।