काठमाण्डौ । अझै पनि नेपालको कुल जनसंख्याको आधाले पनि जीवन बीमा गराएका छैनन् ।
जीवन बीमा किन गर्ने ? यस्तो महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्तै भेटिन्छन् । बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु प्रशस्तै छन् ।
आर्थिक स्थिति बलियो भएपनि कार, स्कुटी र बाइक वा सम्पत्तिको बीमा गराउने तर आफ्नो जीवनको बीमा नगराउने प्रवृत्ति छ । जीवन बीमा गर्नु बचत मात्रै नभई भविष्यमा हुन सक्ने जोखिम बहन पनि हो भन्ने कुरा बुझेर पनि बुझ पचाउने प्रवृत्तिले गर्दा बीमाको दायरा बढ्न सकिरहेको छैन ।
नेपालमा जीवन बीमा लागू भएको करिब ५६ वर्ष भइसक्यो । यतिको वर्ष बितिसक्दा पनि नेपालको जनसंख्याको पाँच भागमा एक भाग जनसंख्याले पनि जीवन बीमा गरेका छैनन् अर्थात् हालसम्म २१ प्रतिशत सर्वसाधारणले मात्रै बीमा गरेका छन् ।
अहिले पनि बीमा गराउनु ठगी हो भन्ने गलत सोचाइ छ । झनै कोभिड–१९ को महामारीमा आएको कोरोना बीमाले गर्दा बीमा क्षेत्रप्रति नै नकारात्मक प्रभाव परेको छ । लाखौँ बीमितले कोरोना बीमाबापतको दाबी भुक्तानी नपाउँदा बीमा क्षेत्रप्रति सर्वसाधारणको गलत छाप बस्न गएको छ । नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार बीमा कम्पनीहरु स्थापित भएका हुन्छन् । बीमितको डकुमेन्ट सही भएको खण्डमा बीमा कम्पनीहरुले १५ दिनभित्र बीमा वापतको रकम भुक्तानी दिनुपर्ने प्रावधान बनिसकेको छ ।
यदि बीमितले सही कागजात बुझाएर पनि कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गरेको खण्डमा बीमा ऐनअनुसारको कारबाही हुन्छ । यसकारण पनि अहिलेको समयमा बीमा गराउँदा ठगिने पो हो कि भन्ने सोच राख्नु गलत हो ।
कोरोना बीमाको सन्दर्भमा नेपाल सरकार अर्थ मन्त्रालयबाटै बीमितहरुलाई तिर्न बाँकी रहेको रकम निकासा भएपछि मात्रै निर्जीवन बीमा कम्पनीहरुले भुक्तानी गर्नेछन् । यसअघि पनि केही प्रतिशत रकम भुक्तानी भइसकेको छ ।
बीमा कम्पनीहरु आफैँले पनि पुनर्बीमा गरेका हुन्छन् । जसका कारण प्राकृतिक प्रकोपलगायत दुर्घटनाबाट कम्पनीको अस्तित्व मेटिन गए के हुन्छ भन्ने खालका चिन्ता लिइराख्नुपर्दैन ।
बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानवीय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहीँतहीँ रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ ।
जीवन बीमा भन्नाले कुनै पनि व्यक्तिको उमेरका आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निजले अख्तियारी दिएको व्यक्ति वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्तिले कुनै खास रकम पाउने गरी बीमा कम्पनीले बीमितसँग गरेको करार हो ।
बीमा गर्दा बचत पनि हुने र भविष्यमा हुन सक्ने जोखिमसमेत कभर हुने भएकोले अनिवार्य रुपमा गर्नुपर्ने बीमा विज्ञहरु बताउँछन् । जबसम्म हरेक नागरिकलाई जीवन बीमाको महत्वको बारेमा जानकारी हुँदैन तबसम्म अधिकांश नागरिक जीवन बीमाबाट बञ्चित हुन्छन् ।
अर्को कुरा जीवन बीमा आर्थिक अवस्था कमजोर हुने तथा आयस्तर थोरै हुनेहरुका लागि त झनै महत्वपूर्ण छ । स–सानो रकम बचत गरेर नै भविष्यमा आर्थिक जोखिम बहन हुने माध्यम भनेको नै जीवन बीमा हो । साथै, जीवन बीमा गर्दा आफ्नो हकवालालाई आफू मरेपछि मात्रै रकम प्राप्त हुने भन्ने गलत धारणा भएकोले गर्दा पनि जीवन बीमाको दायरा बढ्न सकिरहेको छैन ।
बीमा गर्दा अवधि पाकिसकेपछि बीमा गर्नेलाई नै बीमांक रकममा बीमा गरिएको अवधिबराबरको बोनससमेत प्राप्त हुन जान्छ । साथै, बीमितको बीमा अवधिबीचमा मृत्यु भएको खण्डमा हकवालालाई बीमा गरिएको रकम र त्यसमा बोनस प्लस भएर रकम प्राप्त हुन्छ । यसरी जीवन बीमामा बचतका साथै रिस्कसमेत कभर हुने हुँदा निक्षेप राख्नुभन्दा डबल फाइदा हुने इन्स्योरेन्स एडभाइजरहरु बताउँछन् ।
आर्थिक सुरक्षा
जीवन बीमाले बीमितको आर्थिक सुरक्षासमेत बहन गर्ने गर्दछ । व्यक्तिलाई आफ्नो जीवनबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फर्काउँछ ।
यदि एक व्यक्तिले १५ वर्षे अवधिको १० लाख रुपैयाँको जीवन बीमा गराउँछ, भने उसले वार्षिक रुपमा तिरेको किस्ता अवधि पाकिसकेपछि बोनस सहित पाउँछ । साथै बीमा अवधिभर निज बीमितको मृत्यु भएमा उसको हकवालालाई बीमांक रकम र बोनस थप प्राप्त हुन्छ ।
बचत गर्न प्रोत्साहन
जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । यदि बीमितले वार्षिक ५० हजार बीमांक रकमको किस्ता तिर्ने गरी १० लाख रुपैयाँको बीमा गराएको छ भने उसले वार्षिक रुपमा जसरी पनि प्रिमियम तिर्न रकम बचत गरेको हुन्छ । १५ वर्षको बीमा गराउँदा बर्सेनि किस्ता तिरेको रकम बीमा कम्पनीमा नै सुरक्षित रहेको हुन्छ ।
बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनसको रूपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ ।
शिक्षा तथा विवाहको व्यवस्था
बीमा गर्दा आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षासमेत दिन सकिन्छ । छोरा–छोरीलाई शिक्षादीक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनको निम्ति ठूलो खर्च आइलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहनालाई यसले ठूलो सहयोग गर्छ ।
अथवा विवाह, ब्रतबन्ध वा कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ । बीमा गरेको तीन वर्ष पुरा भइसकेपछि बीमा कम्पनीहरुले सहुलियत व्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउनेछ । यसले आफ्नो सन्तानको उज्जवल भविष्यमा उपयोग गर्न सकिनेछ ।
लाभदायक लगानी
जीवन बीमा जीवन सुरक्षाको उपाय हुनुका साथै यो एक प्रकारको लगानी पनि हो । यदि कुनै एक व्यक्तिले बीमा गराएपश्चात् अवधि पाकिसकेपछि बीमा कम्पनीले निजलाई ब्याज वा बोनससहित रकम फर्काइदिन्छ । बीमा गरी अवधि पाकेर प्राप्त बोनससहितको रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ । जस्तैः अन्य लगानीका क्षेत्रहरु जग्गा जमिनमा लगानी, आफ्नै व्यवसायको शुभारम्भ, सेयर बजारमा लगानीजस्ता थुप्रै लगानीमा विस्तार गर्न सकिनेछ ।
बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी
बीमा कम्पनीहरुमा निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन ।
बिनाधितो कर्जाको सुविधा
३ वर्ष बितेपछि बीमा कम्पनीबाट बिना धितो नै बीमा लेख धितो राखेर कर्जा लिन पाउने सुविधा छ । बीमितले बीमालेख नै धितो राख्ने भएकोले कर्जाका लागि अन्य कुनै कागजात वा सम्पत्ति धितो राख्नुपर्दैन ।
बीमा प्रारम्भ भएको ३ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिएर पनि बीमितले कुनै व्यवसाय सुरु गरी लाभ लिन सक्छ ।