काठमाण्डौ । असोज मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो रकम गत भदौको तुलनामा ५ अर्ब ५८ करोड रुपैयाँले कम हो ।
जसमध्ये १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य र १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.२३ प्रतिशत हुन आउछ। हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ ।
गत भदौमा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।
चालु आर्थिक वर्षको ३ महिनामा भने सार्वजनिक ऋणको आकार ८८ अर्ब ८३ करोड रुपैयाँले बढेको छ ।
यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ ।