काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।
काठमाण्डौंस्थित पुतलीसडक, नागपोखरी र अनामनगरमा रहेको ब्रोकरमा गई हामीले लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं ।
बाक्लो ब्रोकरहाउस रहेको पुतलीसडकका केही ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति शुन्य थियो भने केही ब्रोकरमा लगानीकर्ता कम उपस्थिति थिए ।
सर्वप्रथम हामी दिब्या सेक्युरिटिज एण्ड स्टक हाउस (ब्रोकर नं. ५९) मा पुगेका थियौं । यस समय सो ब्रोकरमा लगानीकर्ताको सामान्य उपस्थिति थियो । पातलो उपस्थिति रहकाले लगानीकर्ता सेयरबजार भन्दा बाहिरका विषयमा बढी गफ गर्दै थिए । त्यो बेला नेप्से परिसूचक २५ अंकले घटेको थियो । बजार घटेकाले सबैजना मौन देखिन्थे ।
त्यसैबीच एकजना लगानीकर्ताले समग्र बजार घटेपनि कम्पनीहरु चलिराकै कुरा निकाले । ‘सेयरबजार घटेपनि चल्ने कम्पनीहरु चलिराकै छन्, बोनस र राइट सेयर आउन लागेका कम्पनीका सेयरभाउ बढिराकै छ’ उनले भने, ‘नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पनि राइट सेयर ल्याउने कुरा छ त ।’
यसैबीच अर्का लगानीकर्ताले भने, ‘एनआरएनको त ५ प्रतिशत बोनस घोषण भइसकेको छ त’ उनले भने, ‘यो वर्षको लागि बोनस दिइसकेको छ राइट सेयर पनि आउला र ?’ उनले अर्का लगानीकर्तासँग जिज्ञासा व्यक्त गरे ।
उता अर्का लगानीकर्ता भने ग्लोबल आइएमई बैंकको लाभांशमा असन्तुष्ट व्यक्त गरिरहेका थिए । उनले भने, ‘ग्लोबल आइएमई बैंकले के लाभांश दिएको हो त्यस्तो जम्मा ५.५ प्रतिशत रे बैंकहरुको पनि लाभांशदर कम–कम हुँदै आइरहेको छ ।’
उक्त ब्रोकर हाउसमा सबैजना लगानीकर्ताहरु आ–आफ्नै सुरमा देखिन्थे । अर्का एकजना लगानीकर्ता भने मस्त फोनमा गफिदै थिए । यत्तिकैमा उनले भने, ‘अब सेयरबजारबाट कमाउन यस्तै होला ल्यापटप बोकेर कीर्तिपुरको डाडोतिर लाग्नुपर्ला महिनाकै ४ लाख कमाउन ।’ उनले स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले कीर्तिपुरमा आयोजना गरेको बृहत आमसभामा महामन्त्री गगनकुमार थापाको भाषणलाई ब्यङग्य गर्दै सेयरबजारबाट कमाउन नसकिएको र अब कीर्तिपुरको डाडोमा ल्यापटप लिएर गएदेखि महिनाकै २–४ लाख कमाउन सकिने भन्दै ठट्यौली पारामा गफ गर्दै थिए ।
त्यस्तै, दिनको १२ः३० जति भएको थियो । बजार विस्तारै तल झर्दै थियो । यहाँबाट निस्केर हामी नागपोखरीस्थित प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १०)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । ब्रोकर नम्बर १० मा पनि एनआरएनको विषयमा नै चर्चा भइरहेको थियो । उक्त कम्पनीको राइट सेयर आउने कुरामा लगानीकर्ताहरु कुरा गरिरहेका थिए ।
यत्तिकैमा एकजना लगानीकर्ताले भने, अघि भर्खरै २४÷२५ मा भएको नेप्से अहिले ८ मा झरिसकेछ अन्तिमसम्म त सम्हालिन्छ कि क्या हो ।’
केही लगानीकर्ताहरु भने कम्पनीहरुको लाभांशका विषयमा कुरा गर्दै थिए । ‘सूर्यज्योति लाइफ इन्स्योरेन्सले पनि अस्ति मात्रै लाभांश घोषणा गरेको छ । २० प्रतिशत नगद लाभांश दिनु भनेको राम्रै हो’ एक लगानीकर्ताले भने, ‘त्यहि भएर आज सूर्यज्योतिको सेयरभाउ बढेको छ ।’
अर्को कुनामा बसेका केही लगानीकर्ताहरु भने विशाल बजार कम्पनीका विषयमा कुरा गर्दै थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘यो सरकारी कम्पनीहरु त समयमा एजीएम पनि नगर्ने अनि सेयरधनीलाई लाभांश पनि नदिने फेरी त्यस्तै कम्पनीको सेयरभाउ भने बढेको बढ्यै गर्ने ।’
उक्त लगानीकर्ताको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘नामको मात्रै सरकारी कम्पनी हो सर्वसाधारण सेयरधनी हेर्ने हो भने विशाल बजार कम्पनीमा इन्डियन लगानीकर्ताहरुको जमात छ । सबै भारतीय लगानीकर्ता जति विशाल बजार कम्पनीमा थुप्रिएका छन् ।’
त्यस्तै, केही लगानीकर्ताहरुले भने निर्जीवन बीमा कम्पनीको विषयमा कुरा गर्दै थिए ।, ‘लगानीका लागि त निर्जीवन बीमा कम्पनीहरु पनि ठिक छन् अहिले नन लाइफमा मैले देखेको सबैभन्दा बेष्ट सगरमाथा लुम्बिनी इन्स्योरेन्स नै हो’ उनले भने, ‘कम्पनीको पुँजी र व्यसायको हिसाबमा हेर्न हो भने सलिको नै सबैभन्दा वेष्ट लाग्यो मलाई त ।’
उनको कुरालाई खण्डन गर्दै अर्का लगानीकर्ताले भने, ‘सलिको बाहेक अन्य पुँजी नपुगेका नन लाइफ कम्पनी पनि उत्कृष्ट नै छन्, पुँजी नपुगेका कम्पनीले राइट सेयर ल्याउने कुरा छ । यस हिसाबमा यस्ता कम्पनीमा लगानी गर्दा राम्रै हुने देख्छु म त ।’
त्यसपछि हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा पनि लगानीकर्ताहरुको बाक्लै उपस्थिति थियो । लगानीकर्ताहरु आ–आफ्नै धुनमा देखिन्थे । सबैले आ–आफ्नै लगानी रहेको कम्पनी घटेबढेको विषयमा एकअर्कालाई सुनाउँदै थिए । केहीले भने थोरै प्रतिशत मात्रै बढेपनि बेच्ने कुरा गर्दै थिए ।
यतिकैमा एउटा लगानीकर्ताले अर्को लगानीकर्तालाई भने, ‘बरुण हाइड्रोपावर ४३२ पुग्यो त बेचुम कि क्या हो ।’ साथै अर्का लगानीकर्ता भने लाभांश घोषणा हुन बाँकी कम्पनीमा लगानी गर्न सुझाव दिदैं थिए ।
उक्त ब्रोकर हाउसमा पनि लाभांश घोषणा हुन र बुकक्लोज हुन बाँँकी रहेका कम्पनीहरुको बढी चर्चा भएको थियो । यत्तिकैमा एकजना लगानीकर्ताले भने, ‘हिमालयन उर्जा विकास कम्पनीको सेयरमा चलखेल हुने कुरा छ त आफुसँग भएको सेयर कित्ता फालौं है मैले त फाल्न लागेको अब ।’
सोही लगानीकर्तालाई बाहिरको हल्लाको विषयमा निकै जानकारी हुने जस्तो देखिन्थ्यो । उनले भने, ‘ङादी ग्रुप पावरको मंगलबार सर्किट लाग्ने कुरा छ सेयर किन्ने भए आजै हो मौका किनिहालौं ।’
अगाडीतिर बस्ने केही लगानीकर्ताहरु आफ्नै धुनमा गफ गर्दै थिए । त्यसैबीच एक महिला लगानीकर्ताले फाइनान्स इन्डेक्स घटेको बताउँदै अब फन्डामेन्टल बलिया र राम्रा कम्पनीहरु चल्न सक्ने बताइरहेकी थिइन् । ‘बजारको समग्र अवस्था हेर्दा अब फन्डामेन्टल बलिया कम्पनीहरु चल्न सक्छन है अब’ उनले भनिन्, ‘फन्डामेन्टल राम्रा नभएका कम्पनीहरुमा लगानी गर्न डर लाग्छ कमाउने चान्स भएपनि रिस्क त्यसको दोब्बर हुन्छ ।’
पछाडी सिटमा बस्ने एक लगानीकर्ता भने फाइनान्स कम्पनीमा बढी रिस्क हुने बताए । यतिकैमा उनले भने, ‘यो फाइनान्स कम्पनी जति सबै फसाउने कम्पनी हुन्।’ उनको भनाईलाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘फाइनान्स कम्पनीहरुले लाभांश पनि दिदैनन् त्यस्ता कम्पनीहरु नै बढी चर्चामा आउने फेरी । आखिर हाइड्रोहरु नबढेसम्म बजार नबढ्ने रहेछ । बरु हाइड्रो कम्पनीहरुको बोनस र राइट सेयर आउदैछ । यस्ता कम्पनीमै लगानी गर्दा ठिक छ ।’
दिउँसोको २ बजिसकेको थियो । हामी त्यहाँबाट निस्केर अनामनगरमै रहेको आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७)मा छिर्यौं । बजार घटेर सामान्य अंकमा झरिसकेको थियो ।
त्यहाँपनि लाभांश घोषणा हुन बाँकी र बुकक्लोज हुन बाँकी कम्पनीहरुको चर्चा हुँदै थियो । त्यसैबीच एक लगानीकर्ताले अचम्मित भावमा भने, ‘सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा पनि सर्किट लागेछ त आज त विकास बैंकमा चमक पो देखियो त ।’
उनको कुरालाई जोड्दै अर्का लगानीकर्ताले भने, ‘आज विकास बैंक समूहले गर्दा नै बजार तानिएको हो । तर विकास बैंकमा पनि राम्रा कम्पनीहरु बढेका छैनन् । जसको वित्तीय अवस्था नाजुक छ त्यस्तै कम्पनीको सेयर मात्रै धेरै बढेको छ ।’
उता दुईजना लगानीकर्ताहरु भने ठट्यौली पारामा झगडा गरिरहेका थिए । एकजना लगानीकर्ता बोलिरहेका बेला अर्का लगानीकर्ता भने आफ्नो स्क्रिप्ट बढ्न नसक्दा त्यसैको रिस पोखिरहेका थिए । ‘कति धेरै बोलेको नबोलि बस्न सक्दैनौ यीनको गेडी फुस्केको जस्तो छ कस्नुपर्ने भयो ।’ उनले भने ।
सोही लगानीकर्ताको हाइड्रो कम्पनीहरुमा धेरै लगानी रहेको जस्तो देखिन्थ्यो । उनले हाइड्रो कम्पनीहरुमा लगानीकर्ताको चार्म घटेको बताइरहेका थिए ।
उनको कुरा काट्दै उनीसँगै झगडा गर्दै ठट्टा गरिरहेका लगानीकर्ताले भने आफुले सल्लाह दिएको कम्पनी नछान्दा आफैं फसेको बताए । ‘बुढा हामीले भनेको कम्पनी लिनु पर्दैन खाली रिसाउन मात्र जान्या छ’ उनले भने, ‘सुर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश घोषणा भएको छ सिटि होटलको राइट सेयर आउँदैछ त्यस्ता कम्पनी किन्नु भन्दा मान्नु छैन ।’