काठमाण्डौ । नियमति स्तम्भ ‘ग्राउण्ड जिरो’ लाई निरन्तरता दिने क्रममा आज हामी पुतलीसडक र अनामनगर आसपासका ब्रोकर हाउसहरुमा पुगेका थियौं । यसै सिलसिलामा हामी सबैभन्दा पहिले अनामनगरमा रहेको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं ।
यस ब्रोकरमा लगानीकर्ताहरुको राम्रै उपस्थिति थियो । बिहानको सुरुवाती चरणमा बजार सामान्य अंकले तलमाथि गर्दै थियो । लगानीकर्ताहरु गफगाफमा मस्त थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘जबसम्म सिमेन्ट बढ्दैन तबसम्म सेयर बजार बढ्दैन ।’ उनको बोलि भूँइमा नखस्दै एक लगानीकर्ताले भने, ‘सिमेन्ट त डल्लो परिसक्यो आशै नगर्नुहोस् ।’ उनले यत्ति भनेपछि ब्रोकर हाउसमा हाँसो गुञ्जियो ।
केही समयको पछि एक लगानीकर्ताले प्रश्न गरे ‘ओली सरकारले बीआरआईमा सम्झौता गरेपछि सरकार संकटमा पर्यो भन्छन खासकुरा के हो साथि ?’ उनको प्रश्नको उत्तर दिदै सँगैका लगानीकर्ताले मुख खोले, ‘यो सबै हल्ला मात्रै हो । अहिले सरकार किन ढल्छ ?’ उनले थप्दै भने, ‘लौ हेर्नुस्, सिन्धु विकास बैंक एक हजार माथि,कर्णाली डेभलपमेन्ट बैंक पनि उर्लेकै छ । अझै विकास बैंक नै चल्ने हो । ’
केही समय ब्रोकर हाउसमा मौनता छायो । सबैका नजर ठूलो स्क्रिनमा गडिए । यसैबीच एक महिला लगानीकर्ता भनिन् ‘अब खेलाडी लुम्बिनी विकास बैंकमा जाँदै छन् रे । हाइड्रोमा मेन्छियाम पनि भन्छन् ।’ यसै ब्रोकरमा केही लगानीकर्ताले बजारमा हाई क्यापमा चार्म नै नभएको बताए । ब्रोकर हाउसमा यस्तै गल्फती चल्दै थिए । दिनको १२ बजि सकेको थियो । नेप्सेमा बिस्तारै बिक्री दबाब आउँदै थियो ।
यहाँबाट हामी सेक्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । बजार करिब ३४ अंकले घटेर २७ सयको विन्दुमा चल्दै थियो । ब्रोकरमा लगानीकर्ताको उपस्थिति खासै थिएन । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ता बजार घटेकोमा आश्चर्य व्यक्त गरे । उनले थप्दै भने, ‘लौ सिन्धु विकास बैंक पनि बढ्यो ।’ उनलाई जवाफ दिँदै उनीसँगै बसेका लगानीकर्ताले भने, ‘लौ यसमा पनि टोपी लगाइदिने भए । मितेरी डेभलपमेन्टमा पनि टोपी लगाइ दिईसके ।’ जाडोमा राम्रै टोपी लगाउने भए साथिहरुले,।’ उनले ठट्यौली पारामा भने ।
केही समयको बसाईपछि हामी पुतलीसडकमा नै रहेको श्वेता सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २५) मा पुग्यो । यस बेलासम्म दिनको १ बजिसकेको थियो । बजार निरन्तर घटिरहेको थियो । ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति निकै कम थियो । यस ब्रोकरमा केही लगानीकर्ता निन्द्रामा मस्त थिए केही भने गफमा मस्त । यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था निकै नाजुक रहेको छ । तर पनि मूल्य १२ सय कसरी भयो ?’ उनलाई जबाफ दिँदै ठट्यौली पारामा अर्का एक लगानीकर्ताले भने, ‘८/१० कक्षा पढेका नेता मन्त्री र प्रधानमन्त्री कसरी भए ? त्यही हो कारण ।’ उनको यस्तो उत्तर सुनेपछि लगानीकर्ताहरुबीच हाँसोको फोहोरा छुट्यो ।’ यस बेलासम्म दिनको साढे एक बजिसकेको थियो ।
लगानीकर्ताहरु ब्रोकर हाउसमा नभेटिएपछि हामी टुकुचा किनारका चिया पसलतर्फ लगानीकर्ता खोज्न लाग्यौंं । यत्तिकैमा एक चिया पसलमा केही लगानीकर्ताहरु ल्याटप लिएर सेयर कारोबार गरिरहेको भेटिए । यहाँ लगानीकर्ता मात्रै सेयरमा ब्यस्त थिएनन्, चिया पसले पनि सेयर कारोबारमा नै मस्त र व्यस्त देखिन्थे ।
यहाँ अझै अचम्म के थियो भने ती चिया पसलेको नाम नै ‘प्रोफिल’ राखिएको थियो । यसको मुख्य कारण थियो उनी प्रोगेसिभ फाइनान्समा डुब्नु । कसैले चिया माग्दा पनि हेल्लो ‘ प्रोफिल’ एक कप चिया भन्थे । त्यसपछि उनी जुरुक्क उठेर ल्यापटप छोडेर चिया बनाउन लाग्थे । पुतलीसडकको यो चिया पसलमा ब्रोकर हाउसमा भन्दा बढी सेयर कारोबारको रौनक देखिन्थ्यो । यहाँ चिया पसलेदेखि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसम्म सेयर कारोबार गरिरहेका भेटिन्थे ।
एकजना प्रध्यापकको नाम पनि मितेरी डेभलपमेन्ट बैंकमा डुबेका कारण नामै ‘मितेरी’ राखिएको थियो । यत्तिकैमा एक लगानीकर्ताले भने, ‘मैले त एनएफएस (नेपाल फाइनान्स) किनेको झनै फसिएला जस्तो छ ।’ चियाको चुस्की तान्दै उनलाई जवाफ दिँदै एक लगानीकर्ताले भने ‘खेलाडीले राष्ट्रपति भवन अगाडी महल ठडायो भन्छन् । तपाई अझै किनेर बस्नुस् ।’ यहाँ भेटिएका लगानीकर्ताहरु लो क्यापका कम्पनीहरु जस्तै दोर्दी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, इङ्वा हाईड्रो, मितेरी डेभलपमेन्ट कम्पनीको चर्चा गर्दै थिए ।
‘ए माँणे भाइ यो सिन्धु पनि खाई देउन, म डोनेशन दिन आउँला !’, एक लगानीकर्ताले भने । उनको ठट्टामा अन्य लगानीकर्ताले हाँसो मिसाए । यस बेलासम्म मध्यान्हको साढे २ बज्दै थियो । बजारमा करिब ५० अंकको गिरावट आएको थियो । त्यसपछि हामीले हाम्रो स्तम्भलाई चिया पसलमा र्नै बिट् मार्ने निधो गर्यौं ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।