काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका सीईओहरुको संगठन डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, वित्त कम्पनीका सीइओहरुको संगठन नेपाल वित्तीय संस्था संघ र लघुवित्तका सीईओहरुको संगठन नेपाल लघुवित्त बैंकर्स संघले आइतबार संयुक्त विज्ञप्ति जारी गरी पछिल्लोपटक विकसित घटनाक्रम, बैंक तथा वित्तीय संस्थाप्रति फैलाइएका भ्रामक अराजक गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
उनीहरुले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै सबल र उत्कृष्ट क्षेत्रको रुपमा स्थापित रहेको समेत दाबी गरेका छन् ।
'नेपालको बैंकिङ्ग क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छौं । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेका छन् । साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणीहरुलाई रु ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको सर्वविदित नै छ । यी सबै संस्थाहरुले ८२,००० भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आ.व. २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई रु ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले रु ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।' विज्ञप्तिमा भनिएको छ-'पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।'
अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त (बासल लगायत)लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको र राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको दाबी गरिएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको समेत प्रष्ट पारिएको छ ।
'यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं ।' विज्ञप्तिमा अगाडि भनिएको छ-'बेला बखतमा सामाजिक संजालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचनारसमाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं । साथै, आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।'

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                