काठमाण्डौ । पूँजी बजारसम्बद्ध ४ वटा लगानीकर्ता संघले आइतबारको कारोबारमा टिएमएसमा आएको समस्याबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आइतबार टिएमएसमा आएको समस्याबाट लगानीकर्ता सेयर कारोबारबाट बञ्चित भएको र भविष्यमा यस्तो समस्या नदोहोरियोस् भन्दै खबरदारी गर्दै ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपालको पूँजीबजार सञ्चालन गर्ने एकमात्र स्टक एक्सचेन्ज, नेपाल स्टक एक्सचेन्जको सिस्टममा देखिएका खराबीको कारणले लगानीकर्ताहरू पटकपटक सेयर कारोबारबाट वञ्चित भएको सर्वविधितै छ । २०८१ साल पुस २८ गते पनि आम लगानीकर्ताले त्यही समस्या झेल्नुपर्यो । टीएमएस सर्भर नै डाउन भएको हुनाले कारोबार समयमा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएनन् यसले एकातिर आम समुदायमा सरकारले चलाउने सिस्टम कति भरपर्दो छ भन्ने कुरा पुष्टि गर्यो भने अर्कोतिर पटकपटक सिस्टमको खराबीले कारोबार रकममा संकुचन हुन गई सरकारले करोडौंको राजस्वसमेत गुमाउनु पर्यो ।’
यस सम्बन्धमा लगानीकर्ताहरूको संगठनहरूबाट विगतमा पटकपटक समस्याको बारेमा अवगत गराएको उल्लेख गर्दै नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड एवं अर्थ मन्त्रालयबाट गम्भीरताका साथ चासो नदिनु खेदजनक भएको लगानीकर्ताको भनाई छ । ‘नेपाल स्टक एक्सचेन्जले आफ्नो सिस्टममा पटकपटक खराबी आउँदा समेत चासोपूर्वक समाधान गर्ने ठोस कार्य नगरेको र आम लगानीकर्ताहरूको ४५ खर्ब भन्दा माथिका सम्पतिको लेखा राख्ने सिस्टममा यस प्रकारको खराबीले आम लगानीकर्ताको सम्पत्तिको तथ्याङ्क कति सुरक्षित छ भन्ने प्रश्न चिन्ह समेत खडा भएको छ,’विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज लगायत सम्पूर्ण सरोकारवालाहरूमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । आगामी दिनमा यस प्रकारका समस्याहरु नदोयाउन र तत्काल समस्याको समाधान गर्न जोडदार माग गर्दछौं ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                