काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ८ करोड ४९ लाख रुपेयाँ खुद नाफा कमाएको थियो । यो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ३६.८८ प्रतिशतले घटेर ११ करोड १४ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ३६.८८ प्रतिशतले घटेर १० करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ ।
यस्तै कम्पनीको सञ्चालन खर्चमा भने कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन खर्च घटेर ३ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब ३४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ६७.७० प्रतिशतले घटेर ३ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार भने २८ करोड ५४ लाखबाट बढेर ३० करोड १९ लाख रुपेयाँ पुगेको छ ।
संस्थाको वितरणयोग्य मुनाफामा समेत कमी आएको छ । वितरणयोग्य मुनाफा ६ करोड ३३ लाखबाट घटेर ३ करोड ९१ लाखमा खुम्चिएको छ । कम्पनीको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.६० रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात पनि बढेको छ । खराब कर्जा अनुपात २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९४.४७ गुणा र तरलता अनुपात १९.८७ प्रतिशत कायम भएको छ ।