काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।
यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढ्दै १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत १८ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १४ करोड २ लाख रुपैयाँबाट बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७८ लाख ३१ हजार रहेको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ । यद्यपी संस्थाको वितरणयोग्य मुनाफा भने २९ लाख ६० हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
ग्राहकहरुबाट १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ३.५९ प्रतिशतबाट बढेर ५.६२ प्रतिशत पुगेको छ । संस्थाको रिजर्भ १२ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१६.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५७.८६ गुणा,प्रतिसेयर नेटवर्थ १२३.३७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८९२.२९ रुपैयाँ र तरलता अनुपात २३.४९ गुणा कायम भएको छ ।