काठमाण्डौ । चिनियाँ ‘डिपसिक’ नामक स्टार्टअप एआई लञ्चले विश्वभर तहल्का मच्चिएको छ । यस कारण विशेष गरी अमेरिकी सेयर बजारमा भारी गिरावट आईरहेको छ । अमेरिकी टेक कम्पनी एनभिडियाको सेयरमूल्य दुई दिनमा २० प्रतिशतभन्दा बढीले घटिसकेको छ । जसका कारण यो कम्पनीको बजार पूँजीकरण ६ सय अर्ब डलरसम्मले घटेको छ ।
डिपसिकका कारण अमेरिकी सेयर बजारका साथै छिमेकी राष्ट्र भारतको सेयर बजार समेत प्रभावित बनेको छ । डिपसिक आरवान मोडल बजारमा आएसँगै भारतीय बजारमा सूचिकृत केही कम्पनीको सेयरमूल्य पछिल्लो २–३ कारोबार सत्रको क्रममा करिब ५० प्रतिशतले घटिसकेको छ ।
यी कम्पनीहरुमा अनन्त राज,नेटवेब टेक्नोलोजिज इण्डिया र जेन टेक्नोलोजिज् रहेका छन् ।
डिपसिकले च्याटजीपीटीको विकल्प रहेको दाबी गरेको छ । जुन कम लागत तथा कम चिप्ससँग आउने कम्पनीले जनाएको छ । यो मोडल निःशुल्क हुने जनाइएको छ ।
भारतीय कम्पनी नेटवेब एनभिडियाको साझेदार हो । त्यस्तै अनन्त राज भारतको एउटा प्रमुख डेटा सेन्टर खेलाडी हो । डिपसिकका कारण अनन्त राज लिमिटेडको सेयर मंगलबार २० प्रतिशतले घटेको थियो । सोमबार पनि कम्पनीको सेयरमूल्य १७ प्रतिशतले घटेको थियो ।
यस्तै नेटवेब टेक्नोलोजीको सेयर पनि मंगलबार १० प्रतिशत र सोमबार ११ प्रतिशतले घटेको थियो ।
जेन टेक्नोलोजीको सेयर पनि मंगलबार १४ र सोमबार ६ प्रतिशतले घटेको छ ।