काठमाण्डौ । बिक्री आम्दानी बढ्दा हिमालयन डिष्टिलरीको नाफामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आफ्नो नाफा १४७.४२ प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिक्री आम्दानी पनि ५७.९६ प्रतिशतले बढेको छ । कम्पनीको खुद बिक्री आम्दानी ९५ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च १३ करोड ७७ लाख,वित्त खर्च ६ लाख ५५ हजार, प्रशासनिक तथा अन्य खर्च ४ करोड ४२ लाख र बिक्री तथा वितरण खर्च १९ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको सञ्चालन मुनाफा ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार १४.९१ प्रतिशतले बढेर ५५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ३१ करोड र कुल चालु दायित्व ६५ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.६५ रुपैयाँबाट बढेर २६.३५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.८७ गुणा र तरलता अनुपात ५.०३ प्रतिशत कायम भएको छ ।