काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदक दिएकामध्ये ५ जनाको नाम सर्टलिस्ट गरिएको छ ।
अर्थमन्त्रालयले गठन गरेको अध्यक्ष नियुक्तिका लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिले फागुन ४ गते आवेदकमध्येहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।
आवेदकमध्ये कमलप्रसाद रेग्मी, चिरञ्जिवी चापागाई, दामोदर बसौला, रामशरण पूडासैनी र शरद ओझालाई सर्टलिस्ट गरिएको छ ।
यी ५ जनालाई नै व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते दिनको २ बजे बोलाइएको छ।
बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए ।
राष्टिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजक रहेको नाम सिफारिस समितिले प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा ५ जना सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । सरकारले तिनै तीन नाममध्ये एकजनालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ ।
को-को पर्लान् ३ जनाभित्र ?
उच्च स्रोतहरुका अनुसार कर्मकाण्डको रुपमा मात्र कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता राखिएको हो । तीनजनाभित्र पर्ने नामको विषयमा समेत लगभग कुरा टुंगिसकेको छ । सर्टलिस्टमा परेका ५ जनामध्ये कमलप्रसाद रेग्मी, रामशरण पूडासैनी र शरद ओझाको नाम सिफारिस समितिले सरकारलाई दिने लगभग सेटिङ भइसकेको छ ।
यी तीनमध्ये एमालेको तर्फबाट रामशरण पूडासैनी अध्यक्ष बन्ने सम्भावित पात्र हुन् भने कांग्रेसकोतर्फबाट शरद ओझा सम्भावित पात्र हुन् । पूडासैनी अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् भने ओझा चाहि पेशाले पत्रकार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाका पुरोहितका छोरा हुन् ।
