काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीमा थप पूँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो।
कम्पनीका अनुसार नेपाल सरकारको सेयर स्वामित्व विद्यमान प्रतिशत (४४.०३९००५१०१९२६) नघट्ने गरी हकप्रद सेयरमा लगानी गर्ने र पूँजी वृद्धि गर्ने सहमति प्राप्त भइसकेको छ।
सोही सहमतिका आधारमा कम्पनीले नेपाल सरकारको लगानीबाहेक थप आवश्यक रकम हकप्रद सेयरमार्फत जुटाउने तयारी गरेको हो।
कम्पनीको सञ्चालक समितिको मिति २०८३ मंसिर ११ गते बसेको बैठकले हकप्रद सेयर निष्कासनमार्फत चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय स्वीकृति प्राप्त गरी हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ।
यद्यपि, कम्पनीले जारी गर्ने हकप्रद सेयरको अनुपात तथा निष्कासनको समयतालिका भने पत्रमा खुलाएको छैन।
कम्पनीको यो निर्णयले विद्यमान सेयरधनीहरूलाई थप लगानी गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्नेछ। साथै, हकप्रद सेयरमार्फत जुट्ने पूँजीले कम्पनीको पूँजीगत आधार थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।