काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । त्योभन्दा एक महिनाअघि उनी विदामा बस्नुपर्नेछ । अधिकारीको कार्यकाल सकिनै लाग्दा केन्द्रीय बैंकको शीर्ष पदमा अब को पुग्ला भनेर चर्चा सुरु भएको छ ।
आगामी गभर्नरका आकांक्षीहरुले विभिन्न राजनीतिक शक्तिकेन्द्रहरुसम्मको दौडधूपलाई तीव्र पारेका छन् ।
एमालेनिकटका आकांक्षीहरु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल तथा उनीहरुनिकटका नेताहरुसँग बाक्लो भेटघाटमा देखिएका छन् भने कांग्रेसनिकटका आकांक्षीहरु चाहिँ पार्टी सभापति शेरबहादुर देउवासँग निरन्तर लविङ गरिरहेका छन् । केहीले महामन्त्री गगनकुमार थापालाई समेत गुहार्न थालिसकेका छन् ।
हाल बीमा प्राधिकरणको अध्यक्ष, नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका उम्मेद्वारबाट सर्टलिस्ट तयार भइसकेको छ भने नेप्सेको सीईओ नियुक्तिको प्रक्रिया नै सुरु भएको छैन ।
गभर्नर अवकाश भएको केही समयपछि प्रमुख निर्वाचन आयुक्तको समेत पद रिक्त हुँदैछ । यो राजनीतिक रणनीतिको हिसाबले महत्वपूर्ण पद हो ।
यसरी सत्ता गठबन्धनका प्रमुख साझेदार दल कांग्रेस र एमालेबीच रिक्त विभिन्न निकायको प्याकेजमै भागबण्डा हुने देखिन्छ ।
सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा रहने र विगतमा महाप्रसाद अधिकारीको विवादास्पद छविका कारण अब बन्ने गभर्नर पार्टीको क्याडरलाई पठाउने कि स्वतन्त्र खालको विज्ञलाई पठाउने भन्ने विषयमा बहस पनि उत्तिकै छ ।
स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने गभर्नर कांग्रेसको पोल्टामा पर्ने प्रवल सम्भावना छ । त्यसो भएको खण्डमा एमालेबाट अहिले गभर्नर बन्ने प्रयासमा लागेकाहरु पछाडि हट्नुपर्ने हुन्छ ।
उसो भए अहिले गभर्नरको रेसमा रहेका कस–कसको बढी सम्भावना छ त ? विभिन्न स्रोतहरुलाई आधार मानेर हामीले ३ वटा नाम अति सम्भावितको सूचीमा राखेका छौं ।
अब बन्नसक्ने सम्भावित गभर्नरको अति सम्भावित ३ जनाको सूचीमा पहिलो नाम हो रामेश्वर खनाल । पूर्व अर्थसचिव समेत रहेका खनाल पछिल्लो समय प्रधानमन्त्रीका विकास सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग निकट छन् । खतिवडाले एमाले र कांग्रेसको साझा व्यक्तिको रुपमा खनालको नाम अगाडि सारेका छन्। खनाल आफैं पनि गभर्नर बन्न इच्छुक देखिएका छन् । उनले समेत एमाले र कांग्रेसका शीर्ष नेताहरुसँगको लविङलाई तीव्र पारिरहेका छन् ।
सरकारले केही समयअघि खनालकै संयोजकत्वमा आर्थिक सुधार आयोग गठन गरेको थियो । भावी गभर्नरका लागि खनाललाई आयोगको संयोजकको जिम्मेवारी दिएर एमालेले ट्रायल गरेको धेरैको बुझाई छ । आयोगमार्फत सरकारलाई आर्थिक सुधारका उपायहरुको विषयमा सुझाउने प्रमुख जिम्मेवारी खनाललाई दिइएको थियो । भोलिका दिनमा गभर्नर भएमा उनको भूमिका मिल्दोजुल्दो हुनेछ, अर्थात सरकारको आर्थिक सल्लाहकारको रुपमा काम गर्नु ।
गभर्नरको अहिलेको दौडमा पछिल्लो समय प्रवेश भएका अर्का दमदार पात्र हुन् विश्व पौडेल । उनी अर्थशास्त्री हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रुपमा समेत काम गरिसकेका छन् । कांग्रेसनिकट पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवाको आशिर्वाद रहेको स्रोत दाबी गर्छ । निकै राम्रोसँग अर्थतन्त्रलाई बुझेका अर्थशास्त्री भएका कारण समेत विश्व पौडेललाई सम्भावित गभर्नरको सूचीमा पछिल्लो समय निकै अगाडि देखिएको हो । कांग्रेसको भागमा गभर्नर परेको खण्डमा पौडेलले बाजी मार्नसक्ने प्रवल सम्भावना छ ।
कांग्रेसबाटै गभर्नरका लागि लविङ गरिरहेका अर्का पात्र हुन् नवील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना । उनलाई कुनै पनि हालतमा गभर्नर बनाउने गरी नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी सक्रिय छन् । त्यति मात्र होइन, ढुंगानालाई कांग्रेस उच्चपदस्थ नेताहरुको समेत राम्रो आशिर्वाद छ । तर, आरजू देउवाले आफ्नो निर्णय फेरेको खण्डमा मात्र भावी गभर्नर बन्न ढुंगानालाई सहज हुने देखिन्छ ।
आगामी गभर्नरका लागि हाल राष्ट्रबैंकका डेपुटी गभर्नरहरु निलम ढुंगाना र बमबहादुर मिश्र स्वभाविक दाबेदारको रुपमा छन् । उनीहरुले समेत आफूनिकटका शक्तिकेन्द्रहरुसम्मको रेसलाई तीव्र पारेका छन् । सिफारिस हुँदा अन्तिम तीन नाममा डेपुटीहरु पर्ने निश्चित भए पनि गभर्नर नै बनिहाल्ने सम्भावना चाहिँ कम देखिन्छ ।
यो रेसमा राष्ट्रबैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट समेत छन् । उनले पनि कांग्रेसनिकटका नेताहरुको पावर लगाएर आफ्नो लविङलाई तीव्र पारेका छन् । पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, डा. प्रकाश श्रेष्ठ लगायतका पात्रहरुले समेत गभर्नर बन्ने इच्छा देखाएका छन् ।