काठमाण्डौ । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नाइस–२०२५ (नेपाल इण्डिया चाइना एक्स्पो)आजदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ गतेसम्म पोखरामा भइरहेको छ । यसमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटरसहित ६ सय भन्दा बढीको सहभागिता रहेको छ । पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार तथा सरोकारवालाहरुको संयोजनमा भइरहेको हो । तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थाहरूलाई एकै थलोमा ल्याएर उनीहरुबीच व्यावसायिक अनुभवको साथै नेटवर्किङ र व्यापार अवसरहरू प्रदान गर्नेछ ।
नाइसले ट्राभल ट्रेड संगठनहरूबीचको सम्पर्क, छलफल गर्न र तीन देशहरूमा पर्यटकीय गतिविधि वृद्धि गर्न सँगै काम गर्ने प्रशस्त अवसरहरू प्रदान गर्नुका साथै नेपाल भ्रमण गर्ने क्रेताहरू र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूका लागि, प्रि–एक्स्पो गन्तव्य अनुभव यात्राहरूको अवसर समेत दिएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालमा पहिलो पटक आयोजना भइरहेको त्रिदेशीय पर्यटन एक्स्पो केवल एक कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताए । ‘यो त्रिदेशीय एक्स्पोले विश्वका दुई ठूला आउटबाउण्ड पर्यटन बजारहरू—भारत र चीन—लाई नेपालमै एकत्रित गराउनका लागि सम्पूर्ण पर्यटन क्षेत्र एकजुट भएर अगाडि आएको छ’,उनले थपे ।
नाइसको दोस्रो दिन फेब्रुअरी २५ तारिखका दिन द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाईट्सःसपोर्टिङ द टुरिजम इकोसिस्टम’ टु ‘सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ र अन्य महत्वपूर्ण विषयवस्तुमा पर्यटन विशेषज्ञहरूसँग ज्ञान आदन प्रदान हुनेछ । फोरमले पर्यटन उद्यमी, विशेषज्ञहरू र साझेदारहरूबीच छलफल, अनुभव आदानप्रदान गर्न, उत्पादित सेवाहरु समकालीन बजारको ज्ञान हाशिल गर्न महत्वपूर्ण सहयोग पुग्नेछ । नाइसको तेस्रो दिन निर्धारित तालिका अनुसार बिटुबी एक्स्पो विजनेश मिटिङ र नेटवर्किङको लागि बाटो खुल्नेछ ।
एक्स्पोको उद्देश्य दुई उदीयमान आर्थिक समृद्ध र पर्यटकीय हिसावले शक्तिशाली देश भारत र चीनबाट बढी भन्दा बढी पर्यटक नेपालमा भित्र्याउने रहेको छ । ती मुलुकबाट अपार पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवद्र्धनका लागि अवसरहरू प्रदान गर्ने लक्ष्य लिइएको छ । यस कार्यक्रमले तीन देशहरू बीच विशेष गरी पर्यटन, आतिथ्य र सम्बन्धित उद्योगका क्षेत्रमा व्यापारिक सञ्जाल र सहकार्य अभिवृद्धि गरी व्यापार सम्बन्धलाई थप सुदृढ गर्न मद्दत गर्नेछ ।