काठमाण्डौ । पछिल्लो समय वित्तीय ठगी, चोरी र अपराधका घटना निकै बढेको छ । विभिन्न प्रलोभनमा परी मानिसहरु ठगिएको घटना दैनिकजसो सुन्ने गरेको पाइन्छ । प्रविधिको सहायताले वित्तीय अपराध हुने क्रम ह्वात्तै बढेको छ ।
तर केही सावधानी अपनाए यस्ता वित्तीय ठगी र अपराधबाट जोगिन सकिन्छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि यस्ता ठगीहरुबाट बच्न सूचना जारी गरेको छ । सस्तोमा मोबाइल पठाइदिन्छु, तपाईंलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता मेसेज आयो र त्यसलाई पत्याएर उसले भने जस्तै आफ्ना गोप्य विवरण तथा नागरिकता जस्ता निजी कागजात नदिन राष्ट्र बैंकले सूचित गरेको छ । यस्तो गरे सम्पत्ति कमाउनुको साटो आफूसँग भएको पनि गुमाउनु पर्ने हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्ता सन्देशहरू प्राप्त भएमा सधैँ सतर्क र सोचविचार गरेर निर्णय लिनु अत्यन्त आवश्यक छ । सित्तैमा केही पनि नपाइने र यस्ता सन्देशहरूको पछाडि सधैँ कुनै न कुनै दाउपेच लुकेको हुनेतर्फ ध्यान दिन राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।