काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय कार्ड प्रयोग गर्नेको संख्या वृद्धि भईरहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ग्राहकहरुलाई वित्तीय कारोबारको सहजताका लागि यस्तो कार्ड प्रदान गर्ने गर्छन ।
यस्तो कार्ड जारी गर्दा बैंक तथा वित्तीय संस्थाले केही शुल्कहरु लिने गर्छन । यी कार्डहरुको केही सिमा र अतिरिक्त सुविधाहरु पनि हुने गर्छन् । जुन कुरा विद्युतीय कार्ड सुविधा लिने सबै ग्राहकहरुलाई थाहा नहुन पनि सक्छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई डेविट कार्ड (एटीएम), क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा, आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनु पर्ने नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा उल्लेख रहेको छ ।
तसर्थ, विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व उपर्युक्त कार्ड लिँदा लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाहरू जस्ता विषयवस्तुहरू बारे आवश्यक जानकारी लिने गर्नु पर्दछ ।
साथै, क्रेडिट कार्डको सन्दर्भमा सोको प्रयोग गर्दा लाग्ने ब्याजदर लगायतका विषयमा आवश्यक जानकारी समेत लिनु पर्छ । विद्युतीय कार्डहरू लिँदा सोसँग सम्बन्धित विषयमा जानकारी लिन नेपाल राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।