काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै गत फागुन ११ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९÷८०का लागि पारित भएको १४ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीले गत माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयम तिर्नुपर्ने जनाएको छ ।
यद्यपी साविकको प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएको मिति २०८० वैशाख २६ गते अघि कायम रहेको सेयरधनीहरुको बोनस सेयरमा कर नलाग्ने तथा सो मितिभन्दा पछि सेयर खरिद गरेका सेयरधनीहरुको हकमा करबापतको रकम कम्पनीको नाममा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खातामा जम्मा गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । यसरी जम्मा गरेको बैंक भौचर वा कनेक्ट आईपीएसमार्फत जम्मा गरी कम्पनीको ईमेल ठेगानामा जम्मा गरेपश्चात मात्रै उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिने सूचनमा उल्लेख छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                