काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ७ लाख कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ५४ हजार ६०० कित्ता रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि विसं २०७८ चैत २७ गतेदेखि २०७९ वैशाख ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण(कर्मचारी समेत)का लागि भने विंस २०७९ वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ बाँडफाँड २०७९ जेठ ९ गते गरेको थियो ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।
संस्थापक सेयरधनीहरुमध्ये सञ्चालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा पदबहालीका कर्मचारीको हकमा आफू परिवार वा सम्बन्धीत संस्था, सो कम्पनीमा हुदाँको बखत वा पदबाट हटे पश्चात एक वर्ष अवधिसम्म सेयर खरिद बिकी गर्न नपाइने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                