काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ साल जेठ २८ गतेको नियुक्ति पत्रमार्फत उनलाई सो पदमा तोकिएको हो।
यसअघि मास्के कम्पनीमा नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले २०८२ अजठ २८ गतेबाट औपचारिक रुपमा निमित्त प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी छिन् ।
चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट इञ्जिनियरिङ (बी.ई.) अध्ययन गरेकी मास्केले २०४९ साल माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियरका रूपमा सेवा सुरु गरेकी थिइन् ।
त्यसपछि २०५१ फागुन १० मा स्थायी नियुक्ति प्राप्त गरेकी उनी २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशकमा पदोन्नति भएकी थिइन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा सरकारबाट प्राप्त जिम्मेवारीलाई इमानदारीका साथ सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सबैको साथ र सहयोग लिएर कम्पनीको प्रगतिका लागि अग्रसर हुने बताएकी टेलिकमले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                