काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखी निरन्तर रुपमा सेवा भावले सञ्चालनमा रहेको अखण्ड ज्योतिबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ । ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरिरहेको छ ।
यात्रीलाई निःशुल्क भोजन सेवा गराउने ,धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारीशक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्था सहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुहरूको लागि विश्राम तथा आवासको व्यवस्था सहित सुविधा सम्पन्न धर्मशाला सञ्चालन गरिरहेको ट्रस्टलाई बैंकले सहयोग उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाभावमा समर्पित ट्रस्टलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्ंचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाख ७ हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                