काठमाण्डौ । बुधबार अर्थात जुलाई ९ पृथ्वीको इतिहासमा सबैभन्दा छोटो दिन हुन सक्ने भएको छ । पृथ्वीको आफ्नो अक्षमा घुम्ने गति पहिलेभन्दा बढी भएको कारण यो अनौठो घटना देखिने वैज्ञानिकहरूले बताएका छन् ।
बुधवार बाहेक, वैज्ञानिकहरूले जुलाई २२ र अगस्त ५ का दिनहरू पनि सामान्य भन्दा १.३–१.५१ मिलिसेकेन्ड छोटो हुने भविष्यवाणी गरेका छन्। यी दिनहरूमा चन्द्रमा पृथ्वीको भूमध्य रेखाबाट सबैभन्दा टाढा हुनेछ। पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर हुनु, चन्द्रमाको स्थिति, हिमनदी पग्लनु र पृथ्वीको भित्री भागमा हुने गतिविधिका कारण पृथ्वीको परिक्रमा गतिमा परिवर्तन आएको वैज्ञानिकहरूले बताएका छन् ।
लिभरपुल विश्वविद्यालयका भूभौतिकशास्त्री रिचर्ड होल्मेले २०२० र २०२२ मा परमाणु घडीहरूको विश्लेषण गर्ने वैज्ञानिकहरूले पृथ्वीको परिक्रमाको गति बढ्दै गएको तथ्य फेला परेको बताएका छन् । परमाणु घडीहरूले समय मापन गर्न परमाणुहरूको कम्पन प्रयोग गर्दछ। गत वर्ष जुलाई ५ मा पनि वैज्ञानिकहरूले २४ घण्टाभन्दा कमको दिन रेकर्ड गरेका थिए ।
आफ्नो अक्षमा पृथ्वीको परिक्रमाको गतिमा अप्रत्याशित वृद्धिका कारण दिनहरू छोटो हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् । तर, दिनको समयमा हुने यो परिवर्तन मिलिसेकेन्डको हुनेछ, जुन आम मानिसले महसुस गर्न सम्भव छैन र यसले सामान्य जीवनमा कुनै फरक पार्दैन । यो सानो परिवर्तनले पनि स्याटेलाइट प्रणाली, जीपीएस र समय ट्र्याक गर्ने तरिकालाई असर गर्ने विज्ञहरू बताउँछन्।
सौर्य दिन ठ्याक्कै ८६ हजार ४०० सेकेन्ड वा २४ घण्टाको हुनुपर्छ, तर पृथ्वीको परिक्रमामा अस्थिरताको इतिहास छ। विशेष गरी २०२० देखि पृथ्वी तीव्र गतिमा घुम्न थालेको छ। जसका कारण दिनको समय २४ घण्टाभन्दा कम हुँदै गएको छ । पृथ्वीको परिक्रमामा हुने परिवर्तन प्रायः भूकम्प र समुन्द्री धाराको कारणले हुन्छ।
पृथ्वीको परिक्रमाको गतिमा परिवर्तनको यो क्रम जारी रह्यो भने आगामी ५० अर्ब वर्षमा पृथ्वीको परिक्रमा चन्द्रमाको परिक्रमासँग मिल्ने वैज्ञानिकहरुको विश्वास छ । यस्तो हुँदा चन्द्रमाको मात्र एक पक्ष सधैं देखिनेछ । यद्यपि यस्तो हुन धेरै समय लाग्नेछ र तब सम्म पृथ्वीमा धेरै परिवर्तनहरू भइसकेको हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।