काठमाण्डौ । धितोपत्र बोर्डले आव २०८२/८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दोस्रो बजार सुदृढको लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लिरिङ्ख लिमिटेडको सेयर स्वामित्वमा परिवर्तन गरी पुनर्संरचना गरिने जनाएको छ ।
साथै बोर्डले वस्तु विनिमय बजार पनि ल्याउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यस्तै, चालु आवमा साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म संचालनमा ल्याउने पनि बोर्डले जनाएको छ ।
यस्ता छन् बोर्डको लक्ष्य तथा प्राथमिकता
धितोपत्र बजार र बस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउन बोर्डले निरन्तररुपमा कार्य गरिरहेको छ । समग्रमा बजारको विकास तथा विस्तार गर्ने कानूनी संरचनामा सुधार गर्ने संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत स्वच्छ प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको प्राथमिकता रहेको छ । बोर्डका लक्ष्य तथा प्राथमिकता निम्नानुसार रहेका छन् ।
–नेपाल सरकारको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा समाविष्ट पुँजी बजार सम्बन्धी कार्यक्रम अक्षरशः कार्यान्वयन गर्दै लैजाने,
–वित्तीय क्षेत्रका अन्य नियामक निकायहरूबीच समन्वय कायम गर्ने,
–बोर्डको संस्थागत सुदृढीकरण गर्नुका साथै बोर्डका कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने,
–धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुको हक हित संरक्षणका लागि धितोपत्र बजारमा गलत गतिविधि गर्ने संस्था तथा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने,
–धितोपत्र कारोबारको सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन अटोमेटेड मार्केट सर्भाइलेन्स सिस्टम विकास खरिद गर्ने,
–सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी व्यवसायिकरुपमा सफल तथा स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने तथा बुक बिल्डिंग प्रणालीलाई थप विश्वसनीय एवं पारदर्शी बनाउने,
– साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म संचालनमा ल्याउने,
-वस्तु विनिमय बजार र यसका पूर्वाधारहरूलाई सञ्चालनमा ल्याउने,
-बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने,
-धितोपत्रको दोस्रो बजारको सुदृढ व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्ज लि। तथा सिडिएस एण्ड क्लियरिंग लि। को सेयर स्वामित्वमा परिर्वतन गरी संरचनात्मक सुधार गर्ने,
-बजार सहभागीहरुको व्यवसायिकता तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने,
–पुँजी बजार सम्बन्धी कानूनी संरचनामा सुधार तथा विकास गर्दै ‘आइओएससीओ’को मापदण्ड अनुरुप बनाउने, र
-बजारसम्बन्धी जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम संचालनमा जोड दिने ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                