काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक बीवाईडी सिगल सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले उक्त गाडी सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २८.९५ लाख रुपैयाँ तोकेको छ।
सिमेक्सका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साजन श्रेष्ठ र ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले संयुक्त रूपमा गाडीको अनावरण गरेका थिए ।
दुई भेरियन्ट र आकर्षक रेन्ज
बीवाईडी सिगल दुई भेरियन्टमा उपलब्ध छ, डाइनामिक र प्रिमियम। डाइनामिक भेरियन्टले एक पटकको फुल चार्जमा २३० किलोमिटर र प्रिमियम भेरियन्टले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
नवीनतम डिजाइन, आकर्षक मूल्य र दिगोपनलाई एकसाथ समेटेको बीवाईडी सिगलले नेपाली शहरी क्षेत्रका ग्राहकहरूलाई विशेष लक्षित गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा यो गाडीले ‘वर्ल्ड कार अवार्ड’ जस्ता प्रतिष्ठित पुरस्कार जित्नुका साथै १ मिलियनभन्दा बढी युनिट बिक्री भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो।
कलाकारहरू भन्छन्ः बीवाईडीप्रति ढुक्क छौं
कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेसडर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले आफूले साढे दुई वर्षदेखि बीवाईडीको गाडी प्रयोग गरिरहेको र अहिलेसम्म कुनै समस्या नआएको बताए।
उनले भने, ‘मैले यो गाडीलाई कठिन ठाउँहरूमा पनि लगेको छु, तर यसको प्रदर्शन र विश्वसनीयताले मलाई कहिल्यै निराश पारेन। बीवाईडी फ्याक्ट्रीको भ्रमणपछि म यसको प्रविधि र गुणस्तरप्रति झनै विश्वस्त भएको छु।’
त्यस्तै, कार्यक्रममा उपस्थित अर्का व्यक्तित्व सुदिप गिरीले आफू लामो समयदेखि इलेक्ट्रिक गाडीको प्रयोगकर्ता भएको र बीवाईडीको प्रविधिप्रति विश्वस्त भएर नै यो ब्राण्ड रोजेको बताए।
यस्तै आश्मी श्रेष्ठले बीवाईडी चीनमा नम्बर एक ब्राण्ड भएको र यसको उत्पादन प्रक्रिया र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको रहेको आफ्नो अनुभव सुनाए ।
उनले भने, ‘बीवाईडीले हरेक मूल्य श्रेणीका लागि गाडी उपलब्ध गराएको छ र सिगलको आगमनले ग्राहकलाई थप विकल्प दिएको छ। म सबैलाई ढुक्क भएर बीवाईडी खरिद गर्न आग्रह गर्दछु।’
आकर्षक मूल्य र उत्कृष्ट फिचरहरूका साथ सार्वजनिक भएको बीवाईडी सिगलले नेपाली इलेक्ट्रिक गाडी बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                