काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १३.१८ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १३ अर्ब ३६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ११ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले १८ अर्ब ३६ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९७ करोड रहेको थियो । कम्पनीको खर्च समेत बढेको छ । अघिल्लो आवमा १६ अर्ब ५७ करोड रहेको कम्पनीको कुल खर्च बढेर १७ अर्ब २८ करोड पुगेको छ ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले १५ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ३.६७ प्रतिशतले बढी हो ।
कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब ३९ करोड रुपैयाँ सञ्चित गरेको छ ।
यो अवधिसम्म कम्पनीले ९२ हजार ९३ वटा बीमा पोलिसी जारी गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ९०३.३१ रुपैयाँ र पीई अनुपात ७७.९९ गुणा कायम भएको छ ।

