काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले देशका उद्यमी तथा व्यवसायीहरूलाई पिरोलिरहेका समस्याको समाधानमा सक्रिय ‘ट्रबलसुटर’को भूमिकामा काम गरिरहेको बताएका छन्।
शनिबार राजधानीमा सम्पन्न नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशन उद्घाटन गर्दै उनले उद्योगधन्दादेखि समग्र अर्थतन्त्रलाई असर पार्ने चुनौती समाधानमा महासंघले निरन्तर पहल गर्दै आएको बताए।
ढकालका अनुसार श्रमसम्बन्धी विवाद, डेडिकेटेड र ट्रंकलाइन जस्ता दीर्घकालीन समस्या, लगानीका लागि वातावरण निर्माण, कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू र कालाबजारी ऐन परिमार्जनजस्ता विषयमा महासंघले सरकारसँग निरन्तर संवाद गर्दै आएको छ।
उनले विशेषतः डेडिकेटेड तथा ट्रंकलाइन विवाद अन्त्यका लागि प्रधानमन्त्री सुशिला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङसँग गरेको अनुरोधलाई दुवैले गम्भीरतापूर्वक लिएर समाधान प्रक्रिया अघि बढाएको उल्लेख गर्दै धन्यवादसमेत व्यक्त गरे।
देशमा उत्पादन र रोजगार बढाउन ठूलो मात्रामा स्वदेशी तथा वैदेशिक पुँजी आवश्यक रहेको बताउँदै ढकालले छरिएर रहेको सानो–साना पुँजीलाई एकीकृत गरी ठूला परियोजनामा लगानी बढाउनुपर्ने धारणा राखे। यस उद्देश्यका लागि महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको जानकारी उनले शेयर गरे।
उनका अनुसार उक्त कम्पनीमार्फत पूर्वाधार विकास, रोजगारी सृजना तथा सेवा–उत्पादन सहज बनाउने उद्देश्यका साथ बहुआयामिक आयोजनामा लगानी सुरु गरिएको छ।
हालैको ‘जेनजी आन्दोलन’का नाममा भड्किएको हिंसात्मक गतिविधिमा निजी क्षेत्र तथा निजी सम्पत्तिमाथि भएको प्रहारप्रति चिन्ता व्यक्त गर्दै ढकालले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।
“देशको विकास र समृद्धि हाम्रो साझा लक्ष्य हो,” ढकालले भने, “यसका लागि निजी क्षेत्र, सरकार र सबै पक्षको सहकार्य अत्यावश्यक छ।”

