काठमाण्डौ । सरकारले पुराना सवारी साधनहरुलाई ईभीमा परिणत गर्ने योजना बनाएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले पुराना सवारी साधनहरुको आईसी ईञ्जिनहरु निकालेर ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने कार्यलाई यातायात मन्त्रालयले अनुमति दिने व्यवस्था गर्न लागेको बताए ।
उनले लेखेका छन्, ‘नेपालमा धेरै बर्षदेखि धेरै इञ्जीनियरहरु र टेक्नीसियनहरुले पुरानो कार र भ्यानहरुलाई इञ्जीन फालेर त्यसलाई ब्याट्री वाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरेका थिए। तर लोभीपापीहरुले अनेकौं नियम कानून देखाएर कसैलाई त्यसो गर्ने अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्दैछ ।’

