काठमाण्डौ । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।
मनाङ्ग स्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एन आइ सी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो ।
नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ ।
आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भुमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङ्गस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।
कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ, जस मध्य सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

