आईतवार, फाल्गुन ३,२०८२ 02:09:33
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:09:33
Bizshala
Global IME Bank Limited

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा
Shivam Cement

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।

सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,’ उनले भने ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन्।

उनले जेन्जी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी समेत दिएका छन् ।

‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभएर बहु–क्रस सेक्टर क्षेत्र हो,’ जोशीले भने । सन् २०२५ मा विभिन्न क्षेत्रका २ हजार ६ सय पेशागत जनशक्ति तालिम प्रदान गरेको जानकारी दिँदै सीईओ जोशीले नीतिगत तहका अनुसन्धान, बजार–आधारित अध्ययन र सस्टेनेबल टुरिजम प्रोजेक्ट अन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको जानकारी गराएका छन् ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा( शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथितसमेत रहेका संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबर्द्धनका माध्यमबाट मुलुकको छविलाई उचो बनाउन गरेको योगदानको प्रशंसा गरेका छन् । उनले भने, ‘सीमित बजेट र स्रोतका बाबजुद पर्यटन बोर्डले गरेको उल्लेखनीय योगदान हासिल गरेको छ । पर्यटनका माध्यमबाट दिगो विकासमा बोर्डको भूमिका महत्वपूर्ण छ ।’

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल केवल गन्तव्य मात्र नभएर अनुभव संग्रह गर्ने, प्रकृतीमा रमाएर सांस्कृतिक विविधता अवलोकन गर्ने विशिष्ट मुलुक भएको बताएकी छन् । उनले आफूले विगत २१ वर्षदेखि नेपाल पर्यटन बोर्डमा बिताएका पलहरुको पनि स्मरण गरेकी छन् ।

नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालको पर्यटन प्रबर्द्धानत्मक गतिविधि निर्वाध अघि बढाउन आएका कानुनी तथा नीतिगत झन्झटहरु फुकाउन आफू तयार रहेको जानकारी गराएका छन् । प्रविधिको उच्चतम प्रयोग र जनशक्ति व्यवस्थापन गर्दै बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न आउने समस्या समाधानका लागि बोर्ड तयार रहेको बताएका हुन् ।

त्यसैगरी बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले बोर्डले नतिजा दिने गरी काम भइरहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँग समन्वय हुने गरी कार्यक्रमहरु केन्द्रित गरिएको जानकारी गराएका छन् । त्यसैगरी बोर्डको कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावलीमा सुधार र कर्मचारी पदपूर्तिमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश जारी गरिएको छ । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इन–फोकस पनि विमोचन गरिएको छ । कार्यक्रममा सातवटै प्रदेशका नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.