आईतवार, बैशाख ६,२०८३ 11:42:30
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:42:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'भृकुटीमण्डपमा भेटौँला': गगनको चुनौतीपछि कांग्रेस दुई टुक्रा हुने सम्भावना, सहमतिको सम्भावना सकिँदै

Bizshala
'भृकुटीमण्डपमा भेटौँला': गगनको चुनौतीपछि कांग्रेस दुई टुक्रा हुने सम्भावना, सहमतिको सम्भावना सकिँदै
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेस अब औपचारिक रूपमै फूटको बाटोतर्फ अग्रसर भएको हो ? पछिल्ला घटनाक्रम हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ । पार्टीको १५औँ नियमित महाधिवेशनको कार्यतालिका बारम्बार परिवर्तन हुनु, विशेष महाधिवेशनको मागलाई लिएर गहिरो ध्रुवीकरण र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेको घोषणाले कांग्रेसभित्रको संकटलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको छ । यो कार्यतालिकामा महामन्त्री गगन थापाले फरक मत राखेका छन् भने दुई महामन्त्रीसहित पाँच केन्द्रीय सदस्यहरूले नोट अफ डिसेन्ट लेखेका छन् । यसअघि मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले पुस मसान्तभित्र महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो, तर क्रियाशील सदस्यता विवाद र तल्ला तहका अधिवेशन नहुँदा कार्यतालिका कार्यान्वयन हुन सकेन ।

महामन्त्री थापाले बैठकपछि पत्रकारहरूसँग भने, ‘पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्छु । काठमाडौँमा देशभरका साथीहरूसँग भेटौँला ।’ उनले विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेकाले यो बाध्यकारी भएको तर्क गरे । थापा र शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको प्रक्रिया स्थगित गरेको घोषणा गरेका थिए, जसलाई संस्थापन पक्षले केन्द्रीय समितिको निर्णय उल्टाउने प्रयासका रूपमा हेरेको छ । विशेष महाधिवेशनको तयारीस्वरूप भृकुटीमण्डपको हलसमेत बुक भएको खबर सार्वजनिक भइसकेको छ ।

CG Motors
Garima Development Bank
IME remit

यता, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष विशेष महाधिवेशनले पार्टी फुट्ने खतरा औँल्याउँदै आएको छ । गगन–विश्वप्रकाशले भने केन्द्रीय सदस्यहरूसँगको छलफलमा ‘पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयन नगर्ने’ आश्वासन दिएको समाचारहरू आएका छन् । यो आश्वासनले छोटो समयका लागि तनाव कम गर्न सक्ला, तर विधान कार्यान्वयन र नेतृत्व परिवर्तनको मुद्दामा दुवै पक्षको अडान कायम रहँदा समझदारी टाढाको देखिन्छ ।

कांग्रेसको यो विवाद नितान्त नयाँ होइन । १४औँ महाधिवेशन (२०७८) पछि संस्थापन र असन्तुष्ट पक्षबीचको खटपट निरन्तर छ । तर यसपटक ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर, महामन्त्रीहरूको संयुक्त विज्ञप्ति र कार्यतालिका स्थगनजस्ता कदमले विवादलाई विधानिक र संस्थागत संकटको रूप दिएको छ । आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले पनि महाधिवेशनको समय र नेतृत्व चयनले पार्टीको चुनावी रणनीतिमा ठूलो असर पार्ने निश्चित छ ।

विश्लेषकहरूका अनुसार, यदि विशेष महाधिवेशन भयो भने थापा–शर्मा पक्षले नेतृत्व हत्याउने सम्भावना बढ्छ, जसलाई संस्थापनले फूटको बीउका रूपमा हेरेको छ । तर विशेष महाधिवेशन नगरे विधान उल्लंघनको आरोप लाग्छ र पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठ्छ । दुवै अवस्थामा कांग्रेसको एकता कमजोर हुने जोखिम छ । इतिहास हेर्दा कांग्रेसले यस्ता संकटबाट एकता कायम गरेको उदाहरण धेरै छन्, तर यसपटक युवा पुस्ताको असन्तुष्टि र विधानको बाध्यकारी व्यवस्थाले फूटको सम्भावना पहिलेभन्दा बढी देखिन्छ ।

अन्ततः कांग्रेस फूट्छ कि जुट्छ भन्ने अब केही दिनभित्रै हुने छलफल र निर्णयले निर्धारण गर्नेछ । तर हालको अवस्था हेर्दा पार्टी गम्भीर संकटको घडीमा पुगेको स्पष्ट छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.