बिहीबार, श्रावण १४,२०८३ 11:46:06
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:46:06
Bizshala
Global IME Bank Limited

गगनको उद्घोष: 'एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ, अब हामी बनाउँछौं'

गगनको उद्घोष: 'एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ, अब हामी बनाउँछौं'
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई लोकतान्त्रिक मूल्य, जनमुखी चरित्र र संस्थागत विधिमा आधारित नयाँ यात्रातर्फ अघि बढाउने उद्घोष गरेका छन्। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई वैधानिक मान्यता दिएपछि उनले यस क्षणलाई व्यक्तिको जित नभई विधि, विधान र आम कार्यकर्ताको चाहनाको जितका रूपमा व्याख्या गरेका हुन्।

थापाले निर्वाचन आयोगको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार आएको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन्। उनका अनुसार यो निर्णय नेपाली कांग्रेसका सदस्य, शुभेच्छुक र परिवर्तन चाहने सबैको साझा प्रयासको प्रतिफल हो।

‘यसले स्पष्ट सन्देश दिएको छ-पार्टी नेताको इच्छा मात्र निर्णायक हुँदैन, पार्टी आम सदस्यको चाहनाले चल्छ,’ थापाले भनेका छन्, ‘नेपाली कांग्रेस अब आफ्नो मूल मूल्य, आदर्श र वैचारिक जगमा फर्किएको छ।’

विशेष महाधिवेशनको सन्दर्भ उल्लेख गर्दै थापाले सहभागी भएका/नभएका, सहमत/असहमत सबैलाई यो प्रक्रियालाई जित–हारको चश्माबाट नभई विधि र लोकतन्त्रको अभ्यासका रूपमा लिन आग्रह गरेका छन्। उनले संयम, जिम्मेवारी र एकतालाई अहिलेको सबैभन्दा ठूलो आवश्यकता बताए।

सभापति थापाका अनुसार नेपाली कांग्रेस अब नयाँ ऊर्जा सहित रुपान्तरणको चरणमा प्रवेश गरिसकेको छ र पार्टी सुधारको यात्रा औपचारिक रूपमा सुरु भइसकेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले उच्च आत्मविश्वास, स्पष्ट दृष्टि र व्यापक तयारीका साथ एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

थापाले पार्टीभित्र अब गुट, गुटगत भागबण्डा र शक्ति सन्तुलनको राजनीति समाप्त हुने दाबी गर्दै भने, ‘जिम्मेवारी फरक हुन सक्छ, तर भुइँ तहका सदस्य र सभापतिको हैसियत समान हुन्छ। निर्णयको केन्द्र अब कार्यकर्ता र जनताको चाहना हुनेछ।’

पूर्वसभापति शेरबहादुर देउवा लगायत पार्टीका सबै तह र निकायमा रहेका नेताकार्यकर्ताबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले यो लोकतान्त्रिक प्रक्रियालाई सबैले सहज रूपमा स्वीकार गर्ने अपेक्षा गरेका छन्।

‘नेपाली कांग्रेस कुनै सीमित नेताको पार्टी होइन, यो आम नागरिकको सार्वजनिक पुँजी हो,’ थापाले भनेका छन्, ‘विशेष महाधिवेशनमार्फत हामीले विगतका कमजोरीप्रति आत्मालोचना गरेका छौँ र उपलब्धिलाई अझ संस्थागत गर्ने संकल्प गरेका छौँ,अब कांग्रेस बदलिएको छ, र अझ बदलिनेछ।’

उनले मूल्य र सिद्धान्त विपरीत सत्ताका लागि गरिने अप्राकृतिक गठबन्धनको अभ्यास अन्त्य गरिने स्पष्ट पार्दै अब नेपाली कांग्रेसले संविधानको रक्षा गर्दै लोकतन्त्र र समुन्नत राष्ट्र निर्माणको नेतृत्व गर्ने दाबी गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.