काठमाण्डौ । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै पछिल्लो समय क्यूआरको माध्यमबाट हुने ठगीका घटनाहरू पनि बढेका छन् । यसलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी लिँदा सावधान रहन सचेत गराएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाएको भुक्तानीको स्क्रिनसट मात्रमा भरोसा गर्दा बिक्रेता ठगीको शिकार हुन सक्छन्। स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली पनि हुन सक्ने जोखिम हुने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले बिक्रेताले भुक्तानी प्राप्त भएको पुष्टि गर्न मोबाइल बैंकिङ एप, एसएमएस/नोटिफिकेशन वा बैंक सेवामार्फत खातामा रकम साँच्चै जम्मा भएको हो कि नभएको सुनिश्चित गर्नु अनिवार्य रहेको सेमत उल्लेख गरेको छ। यसो नगरेमा ठूलो आर्थिक नोक्सानी हुनसक्ने जोखिम समेत राष्ट्र बैंकले औल्याएको छ।
नेपाल राष्ट्र बैंकले सबै विक्रेता र सेवा प्रदायकलाई क्यूआर भुक्तानीमा सावधान र सतर्क भएर मात्र कारोबार गर्ने आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।