काठमाण्डौ। बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय सुधार देखाएको छ। कम्पनीको खुद नाफा १६.२५ प्रतिशतले वृद्धि हुँदै २२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको १९ करोड ३८ लाख रुपैयाँभन्दा बढी हो।
विद्युत बिक्री आम्दानी १०.७६ प्रतिशतले बढेर ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ४१ करोड ८९ लाख रुपैयाँ थियो।
यद्यपि, अन्य आम्दानीमा भने सामान्य गिरावट आएको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ६० लाख रुपैयाँ रहेको अन्य आम्दानी समीक्षा अवधिमा घटेर ७ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ। वित्त आम्दानी पनि ९७ लाख ६१ हजारबाट घटेर १५ लाख ४ हजार रुपैयाँमा झरेको छ।
खर्च संरचनातर्फ हेर्दा साधारण खर्च १३ करोड २३ लाखबाट घटेर १३ करोड ६ लाख रुपैयाँमा झरेको छ भने प्रशासनिक तथा अन्य सञ्चालन खर्च ६ करोड ६१ लाखबाट घटेर ५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। तर वितरण खर्च ६ करोड ९० लाखबाट बढेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ। वित्त खर्च उल्लेख्य रूपमा बढ्दै ३८ लाखबाट १ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब २१ करोड रुपैयाँ र कुल चालु दायित्व ७८ करोड ३८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक ६.६१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११८.९१ गुणा र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।

