काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौ नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न भएको हो ।
उक्त सभाले सञ्चालक समितिको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८१÷८२ को अवधिको लागि एनएफआएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु सर्वसम्मतीले स्वीकृत गरेको छ ।
यस्तै सभाले स्वतन्त्र संचालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
त्यस्तै, सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।
त्यस्तै कम्पनीको प्रस्तावित बिषयमाथि नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तब्य र संचालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सेयरधनीहरुको जिज्ञासाको जवाफ दिदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन शेयरधनीहरुको सुझावलाई कार्यान्वयन गर्ने बताए ।

