काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाम र लोगो दुरुपयोग गर्दै ‘केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने’ बहानामा डिजिटल ठगी गर्ने घटनामा वृद्धि भएको पाइएको छ। ठगहरूले फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाई सर्वसाधारणका गोप्य बैंकिङ विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्।
प्राप्त सूचनाअनुसार ठग समूहले बैंक खातामा समस्या देखिएको, खाता निलम्बन हुन लागेको वा केवाईसी तुरुन्त अद्यावधिक नगरे खाता बन्द हुने जस्ता भ्रामक सन्देश पठाउने गरेका छन्। त्यस्ता सन्देशसँगै पठाइने लिंकमा क्लिक गराएपछि ओटीपी, पिन नम्बर, पासवर्ड लगायत संवेदनशील विवरण मागिने र त्यसको दुरुपयोग गरी रकम चोरी हुने जोखिम रहने बताइएको छ।
यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले केवाईसी अद्यावधिकका लागि कहिल्यै पनि एसएमएस वा सामाजिक सञ्जालमार्फत लिंक पठाउने गर्दैनन् र ग्राहकका ओटीपी, पिन वा पासवर्ड जस्ता गोप्य विवरण माग्दैनन्।
राष्ट्र बैंकले केवाईसीसम्बन्धी जानकारी आवश्यक परेमा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा नजिकको शाखामा सिधै सम्पर्क गर्न आग्रह गरेको छ।
साथै, कुनै पनि शङ्कास्पद सन्देश वा फोन आएमा तुरुन्तै आफ्नै बैंक तथा वित्तीय संस्थामा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
डिजिटल बैंकिङको प्रयोग बढ्दै जाँदा यस्ता ठगीका घटना पनि बढ्न सक्ने भएकाले सर्वसाधारणले उच्च सतर्कता अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।