काठमाण्डौ । प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सार्वजनिक बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
निर्वाचन आयोग नेपालको अनुरोधअनुसार निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले उक्त व्यवस्था मिलाउन सूचना जारी गरेको हो।
मन्त्रिपरिषद्ले प्रतिनिधि सभा सदस्य आमनिर्वाचनका सन्दर्भमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ। यसअघि फागुन १८ गते हिमाली तथा पहाडी जिल्लाका ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली (फागु पूर्णिमा) का अवसरमा सार्वजनिक बिदा रहनेछ।
केन्द्रीय बैंकका अनुसार सार्वजनिक बिदाका दिनहरूमा समेत देहायका सेवा सञ्चालन गर्नुपर्नेछः
–सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले राजस्व दाखिला तथा भुक्तानी व्यवस्था सुचारु राख्ने।
–निर्वाचन प्रचारप्रसारका लागि खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक तथा अन्य विनिमेय साधनमार्फत हुने दाखिला–भुक्तानी सेवा उपलब्ध गराउने।
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रक्रिया सहज र पारदर्शी बनाउन आवश्यक वित्तीय कारोबार अविच्छिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन सम्बन्धित संस्थाहरूलाई निर्देशन दिएको जनाएको छ।

